प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्काे आलोचना गरेका छन् । सोमबार घोराहीमा एमाले जिल्ला कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड तत्कालिन राजासँग गठजोड गरेको आरोप लगाए ।
‘एमालेले बनाएको संविधान मास्छौँ, व्प्यवस्था मास्छौँ, शान्तिपूर्ण ढंगले राजनीति गरिरहेका कम्युनिस्ट, कांग्रेस मास्न राजासँग गठजोड गरेको होइन,’ प्रचण्डलाई लक्षित गर्दै ओलीले भने, ‘राजासँग गठजोड गरी सम्झौता गरेर लोकतन्त्र मास्न हिँडेकाहरू, अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएकाहरू, अहिले उल्टै लोकतन्त्र रक्षा गर्ने फुइँ लगाउने ?’ ओलीले प्रचण्डलाई १९ पुस ०६० राति १ बजे राजासँग सम्झौता गरेर कांग्रेस, एमाले सक्न खोजेको आरोप लगाए । ‘गणतन्त्रका लागि कहिले लडेका थियौँ, राजासँग सम्झौता गर्ने, साँठगाँठ गरेको होइन,’ प्रतिप्रश्न गर्दै उनले भने । प्रचण्डले सधैँका लागि राजा चाहिन्छ भन्ने सम्झौता गरेको ओलीको आरोप थियो । साथै, राजासँग प्रचण्डले सेना चलाउने, राजतन्त्रको रक्षा गर्ने, राजाले प्रचण्डको रक्षा गर्नेजस्ता सम्झौता गरेको आरोप पनि उनले लगाए । ओलीले सेरा दरबार खानेहरूले भ्रष्टाचारविरोधी अभियान चलाएको नसुहाउने बताए ।
प्रधानमन्त्री केपी ओलीले संघीयताले विकासको ढोका खोलेको बताएका छन् । विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकामा उनले जोड दिए । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सोमबार विशेष सम्बोधन गर्दै लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताए ।