मधेश कृषि विश्वविद्यालयको समस्या समाधान गर्न सप्तरीका विद्यार्थी संगठनहरू आन्दोलित बनेका छन्। सोमबार राजविराजमा र्याली प्रदर्शन गर्दै उनीहरूले विश्वविद्यालयको समस्या समाधान गर्न माग गरेका हुन्।
विश्वविद्यालयका कुलपति एवं मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह तथा सहकुलपति शिक्षामन्त्री रानी शर्मा तिवारीसँग मधेश कृषि विश्वविद्यालयको समस्या समाधान गर्न उनीहरूले आइतबार ज्ञापनपत्रमार्फत माग गरेका थिए। समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल क्रान्तिकारी र मविव स्ववियुले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मधेश कृषि विश्वविद्यालय सिनेटको बैठक मधेश प्रदेश सरकारले सम्पन्न नगरेको कारण विश्वविद्यालय समस्याग्रस्त रहेकोप्रति ध्यानाकर्षण गराएका थिए।
सिनेट बैठक सम्पन्न नभएकोले प्राध्यापक र कर्मचारीहरूले तलब नपाई विश्वविद्यालयमा तालाबन्दी गरेकोले पठनपाठनसमेत अवरुद्ध भएकोप्रति ध्यानाकर्षण गरेका छन्।
मधेश प्रदेश सरकारले समस्या सल्टयाउनुको सट्टा झन् भाँजो हाल्ने काम गरिरहेको उनीहरूको आराेप छ। समस्या समाधान नभए संयुक्त विद्यार्थी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ।