परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अलबुसाइदीबिच सोमबार मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ।
आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमानको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री डा. देउवा र ओमानी समकक्षी अलबुसाइदीबिच आज भेटवार्ता भएको हो । उक्त अवसरमा मन्त्री डा. देउवाले सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा विदेशमन्त्री अलबुसाइदीलाई बधाई दिएकी थिइन्।
साथै, भेटका क्रममा नेपाल–ओमान सम्बन्धका विविध पक्षका साथै दुई देशबिचका विभिन्न क्षेत्रहरूमा सहकार्यको प्रवर्द्धनका उपायहरूका बारेमा पनि छलफल भएको थियो। मन्त्री डा. देउवाले नेपालमा दूतावास स्थापना गर्न तथा ओमान-काठमाडौं सीधा हवाई उडान सुरु गर्न ओमान सरकारसँग आग्रहसमेत गरेकी थिइन्।
यसै सन्दर्भमा नेपाल र ओमानबिच कूटनीतिक अध्ययन र तालिमका क्षेत्रहरूमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ। यस सम्झौताले कूटनीतिक तालिम र कूटनीतिक क्षेत्रका सूचना आदानप्रदानमा सहकार्य गर्ने अवसर प्रदान गर्नेछ।