‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहितका पदाधिकारी सहभागी हुने भएका छन्।
१२ फागुनदेखि पूर्वको झापादेखि सुरु भई पश्चिमको कञ्चनपुरसम्म एक महिना सञ्चालन हुने हुलाकी राजमार्गकेन्द्रित तराई मधेश जागरण अभियानमा अध्यक्ष प्रचण्डसँगै अन्य पदाधिकारी पनि तीन दिन कोशीको झापा, मोरङ र सुनसरीमा सँगसँगै सहभागी हुने भएका हुन्।
सोमबार विराटनगरमा पत्रकार भेटघाट गर्दै माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले देशको सबैभन्दा होचो ठाउँ झापाको केचनाकबलबाट सुरु भएको जागरण अभियान सुदूरपश्चिमको कञ्चनपुरसम्म पुगेर समापन हुने बताए। एकमहिने अभियानको कोशी प्रदेशमा सबै तयारी पूरा भैसकेको इन्चार्ज गजुरेलले जानकारी दिए।
नेता गजुरेलका अनुसार कोशी प्रदेशमा १२ देखि १४ फागुनसम्म झापा, मोरङ र सुनसरी तीन जिल्लामा अभियान सञ्चालन हुनेछ। अभियानमा तीनैदिन अध्यक्ष प्रचण्डसहित सबै पदाधिकारीले जनतासँग प्रत्यक्ष भेटघाट र अन्तर्क्रिया गर्नेछन्।
गजुरेलका अनुसार अभियानको १२ फागुनमा झापाको केचनाकवलको बनियानीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्नेछन्। उक्त दिन झापाको बाह्रदशी र झापा गाउँपालिकाका बासिन्दाहरूसँग नेताकार्यकर्ताले भेटघाट र अन्तर्क्रिया गर्नेछन्। १३ फागुनमा मोरङको रतुवामाई नगरपालिकाको आमबाडी, कानेपोखरी गाउँपालिकाको रमाइलो तथा धनपालथान गाउँपालिकाको कर्सियामा सभा हुनेछ। १४ फागुनमा सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा र लौकही तथा इनरुवा नगरपालिकामा भेटघाट तथा अन्तर्क्रिया हुनेछ। त्यसपछि टोली उदयपुर हुँदै मधेश प्रदेशतर्फ अघि बढ्नेछ।
अभियानका क्रममा करिब पाँच हजारजनालाई माओवादी पार्टीमा प्रवेश गराउने, मतदाताहरूलाई सम्मान तथा भेटघाट गर्ने, हिमाल र पहाडबाट बसाईं सरेर वा कामको सिलसिलामा आएका परिवार र व्यक्तिहरूसँग अन्तर्क्रिया गरी एकताका लागि सम्पर्क मञ्च निर्माण गरिने बताइएको छ। अभियानका क्रममा सबै स्थानमा कृषकहरूका समस्याहरू मल, बिउ, प्रविधि, सिँचाइ, प्रशोधन र बजारीकरण आदिबारे प्रत्यक्ष संवाद गरी समाधानका लागि पहलसमेत गर्ने माओवादीले जनाएको छ।
यसैगरी, अभियानका क्रममा बढ्दो भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, तस्करी, करछली आदिबारे भण्डाफोर अभियान पनि सञ्चालन हुने बताइएको छ। हुलाकी राजमार्गकेन्द्रित जनजागरण अभियानकै क्रममा सांस्कृतिक कार्यक्रमसहित ‘तराई चुरे’ अभियान पनि सञ्चालन हुनेछ।