सिमेन्टको मूल्यवृद्धिप्रति सांसदहरूको आपत्ति, सभामुखमार्फत सरकारको ध्यानाकर्षण

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

सांसदहरूले सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बजारमा सिमेन्टको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै प्रतिनिधिसभा सदस्यहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्। 

सभाको आज सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद राजेन्द्रकुमार केसीले सिमेन्टको मूल्य विनाकारण बढाइएको भन्दै आपत्ति जनाए। सांसद केसीले भने, ‘झन्डै ९८ प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थमा उत्पादन हुने नेपाली सिमेन्टको हाल अत्यधिक बजारमूल्य वृद्धि भएको छ । विनाकारण किन यो मूल्य बढयो ?’ उनले भारतमा समेत निर्यात गर्न थालिएको नेपाली सिमेन्टको बजारमूल्य वृद्धिले उपभोक्ता महँगीमा परेको भन्दै उद्योग मन्त्रालयको ध्यानाकर्षण गराए।

अर्का सांसद योगेन्द्र मण्डलले सिमेन्टको मूल्य कायम गर्न सम्बन्धित मन्त्रालयले गरेको निर्णयको समेत कार्यान्वयन नभएको भन्दै खेद प्रकट गरे। उनले सिमेन्टको मूल्यवृद्धिले निर्माण व्यवसायी र आमनागरिकलाई परेको मर्कातर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए। 

‘गत साउन महिनामा सिमेन्टको दर रेट रु. ४८४ फ्याक्ट्री रेट थियो । हाल रु. ७४५ छ । यसको असर रु. २२ अर्ब निर्माण व्यवसायीलाई घाटा भएको छ । आमउपभोक्तालाई रु. चार अर्ब घाटा भएको छ,’ उनले भने, ‘यस सम्बन्धमा उद्योग मन्त्रालयसँग निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघको छलफलपछि प्रतिबोरा रु. १२० रूपैयाँ वृद्धि गरी बिक्री–वितरण गर्ने निर्णय भएको थियो । दुर्भाग्यको कुरा मन्त्रीसँग भएको निर्णय कार्यान्वयन भएको छैन।’

शून्य समयमा सांसदहरू सडक, पुल निर्माण, उखु किसानलाई अनुदान, स्वास्थ्य बिमा, कर्मचारीलाई तलबभत्ता निकासालगायतका विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद भानुभक्त जोशीले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल र दबाब बढाउन अनुरोध गरे।

सुझावित समाचार