वीरगन्जमा जडान भएका सिसिटिभी क्यामेरामध्ये आठवटा सञ्चालनविहीन

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिकाभित्रका विभिन्न स्थानलाई निगरानीमा राख्न जडान भएका सिसिटिभी क्यामेरामध्ये आठवटा सञ्चालनविहीन अवस्थामा रहेको छ । पर्सा प्रहरीका अनुसार अहिलेसम्म जडान भएका २३५ वटा सिसिटिभी क्यामेरामध्ये आठवटा सञ्चालनविहीन अवस्थामा रहेको पाइएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय पर्साले कन्ट्रोलरुममार्फत सहरलाई सिसिटिभी क्यामेरा रेखदेख गर्दै आएको पर्साका प्रहरी नायब उपरीक्षक सुवासप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार वीरगन्जलाई सिसिटिभी क्यामेराको निगरानीमा राख्नलाई वीरगन्ज महानगरपालिकाकाे कार्यालय, उद्योग वाणिज्य संघ वीरगन्जअन्तर्गतको सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साबिच सम्झौता भएको छ । 

वीरगन्ज महानगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने, अपुग रकम जोहोका लागि सेफर वीरगन्जले बैंक तथा वित्तीय संघसंस्थासँग समन्वय गर्ने र जिल्ला प्रहरी कार्यालय पर्साले जडान गरिएका सिसिटिभीको कन्ट्रोल रुमका साथै रेखदेखको जिम्मा लिने सम्झौतापत्रमा उल्लेख छ । विगत लामो समयदेखि वीरगन्जलाई सेफर बनाउनलाई तीनवटा यी संस्थाले सामूहिक रूपमा यो अभियानमा सहभागी छन् । 

प्रहरीलाई सिसिटिभी क्यामेराको सहयोगबाट चोरीको मोटरसाइकल बरामद गर्न, सवारी दुर्घटनाका दोषी पहिचान गर्न सहज भएको प्रहरी अधिकारीहरू बताउँछन् । सीमावर्ती सहर वीरगन्जमा भारतीय आपराधिक समूहबाट विभिन्न घटना हुने गरेका छन् । सुरक्षा र अनुसन्धानका लागि सिसिटिभी क्यामेरा एकदमै प्रभावकारी रहेको प्रहरीहरूले बताएका छन् । सिसिटिभी क्यामेराको सहयोगबाट अपराध रोकथाम र नियन्त्रण तथा प्रमाण संकलनमा एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ ।

थप ८० वटा जडान हुने
वीरगन्ज महानगरपालिकाको सहरी क्षेत्रमा थप ८० वटा सिसिटिभी जडान गरिने भएको छ । महानगरको सहरी क्षेत्रका सार्वजनिक स्थलमा हाल ८० वटा सिसिटिभी जडान गरिएकोमा थप ८० वटा जडान गरिने भएको वीरगन्ज उद्योग वाणिज्य संघअन्तर्गतको सेफर वीरगन्जका संयोजक मनोज दासले जानकारी दिए । 

सुझावित समाचार