आइतबार गुल्मी अस्पतालको स्टिचरमाथि अकासे रङको कमिज र नीलो पाइन्टमा मृत अवस्थामा पल्टिएकी इस्मा गाउँपालिका– २ की आठ वर्षीया विष्णु कुमालको तस्बिरले धेरैलाई रुवायो । उनी बिहान दिदी वसन्ती र दाजु सुगमसँग विद्यालय हिँडेकी थिइन् । सँगै हिँडेका दिदी वसन्ती र दाइ सुगम जोगिए । तर, छल्दी–हस्तीचौर–ठाडढुंगा सडकको काम गरिरहेको श्रेष्ठ कन्स्ट्रक्सनको लु.१क ४३८६ नम्बरको जेसिबीले पल्टाएको ढुंगाले लागेर विष्णुले ज्यान गुमाइन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार डोजरचालक मकवानपुर इन्द्रचौर गाउँपालिका– ४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माथिबाट ढुंगा पल्टिएर छोरी ढलेपछि आमा पुतली तत्काल घटनास्थल पुगिन् । बुबाले पनि धेरैपटक चिच्याएर डोजर रोक्न भने, तर कसैले सुनेनन् । बालिका ढलेपछि चालक रेग्मी डोजर छाडेर भागेको पुतलीले बताइन् । छिटो उद्धार गर्न निर्माण व्यवसायीका मान्छेलाई भने पनि कसैले प्रयास नगरेको पुतलीले बताइन् । उद्धारमा चासो नदिएकै कारण घटनास्थलमा धेरै रगत बगेर छोरीको ज्यान गएको उनको गुनासो छ । ‘समयमै छोरीले उपचार पाएको भए बचाउन सकिन्थ्यो । चालक छोरी ढलाएर भागे, अरूले वास्ता गरेनन्,’ पुतलीले रुँदै भनिन्, ‘मलाई मेरो छोरी चाहिन्छ ।’ विष्णु कुमालको मृत्युपछि उनकी आमा अचेत छिन् । स्थानीयले अलपत्र सडकका कारण बर्सातमा पहिरो र हिउँदमा धुलो झेलेका छन् । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बालिकाले मृत्युवरण गर्न पुगेको पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीले बताए ।
१० लाख २५ हजारमा मिलापत्रपछि शव पोस्टमार्टम
घटनाका पीडित र निर्माण व्यावसायीबिच १० लाख रुपैयाँ क्षतिपूर्ति तथा राहत दिने सर्तमा मिलापत्र भएको छ । निर्माण व्यावसायी हरिकुमार श्रेष्ठले तत्काल एक लाख, साउनभित्र चार लाख २५ हजार र बिमाबापतको पाँच लाख दिने सहमति भएको साक्षीसमेत रहेका इस्मा गाउँपालिका– २ का रामलाल केसीले बताए । मिलापत्रपछि परिवारले शवको पोस्टमार्टम गरेर दाहसंस्कारका लागि घर लगेको उनले बताए ।
घरबाट हिँडेको पाँच मिनेटमै अस्ताएका थिए गगन
०७९ जेठमा मुसिकोट नगरपालिका– २ का १४ वर्षीय गगन रायमाझीले घरबाट झोला बोकेर विद्यालय निस्किएको पाँच मिनेट नबित्दै डोजरले फालेको ढुंगाले लागेर ज्यान गुमाएका थिए । उनी मुिसकोट नगरपालिका– ३ को पृथ्वी माविमा कक्षा ९ मा पढ्थे । छोराको मृत्युपछि आमा कल्पना रायमाझी बेहोस भइन् । हुर्केको एक्लो छोरा गुमाउँदा बुबा हरिबहादुर रायमाझी विक्षिप्त बने । घटनाले सिंगो विद्यालय शोकमा डुब्यो । गगन सधैँ साथीहरूसँग विद्यालय जान्थे । त्यस दिन पनि साथीहरूसँगै थिए । तर, अरूभन्दा केही अगाडि । एक्कासि डोजरले पल्टाएको ढुंगाले गगनलाई लाग्यो । उनी अचेत भएर सडकमा पल्टिए । डोजर चलेको विषयमा कुनै जानकारी थिएन । दुर्घटनाको केहीबेरमै आफन्तहरूले गगनलाई थप उपचारको आसमा गुल्मी अस्पताल लगे पनि उनी फर्केनन् ।