जलनको उपचारमा भरपर्दो र विशिष्टीकृत मानिएको कीर्तिपुर बर्न अस्पताल भने आफैँ बिरामीजस्तै छ । अस्पतालसँग जनशक्ति अभाव मात्रै होइन न त पर्याप्त बजेट छ न पूर्वाधार र उपकरण नै । एक सय शड्ढया क्षमताको यो सामुदायिक अस्पताल वर्षौँदेखि अनेकौँ समस्यासँग जुध्दै उपचार सेवा दिइरहेको छ ।
देशैभरबाट बिरामी आउने यो अस्पतालले नै जलनका बिरामीको चाप धानिरहेको छ । अस्पतालमा आउनेमध्ये आठ प्रतिशत काठमाडौं उपत्यकाका र ९२ प्रतिशत उपत्यकाबाहिरका बिरामी हुने गर्छन् । अस्पताल आउने बिरामी प्रायः गम्भीर प्रकृतिका हुने गरेका छन् । तर अस्पतालले उपकरण, बजेटदेखि जनशक्तिसम्मको अभाव झेलिरहेको अस्पतालका निर्देशक किरण नकर्मीले बताए । ‘हामी समस्यै समस्यामा छौं, एक सय बेडमध्ये सबैमा उपचार सम्भव छैन, केही बेड नर्मल बेड हुन्, तर बिरामी धेरै भएपछि सबै किसिमका बेड प्रयोग गर्नुपरेको छ,’ उनले भने, ‘जलनका बिरामीको चाप खेपिरहँदा पनि यो अस्पताल सरकारको प्राथमिकतामा परेको छैन ।’
कीर्तिपुर बर्न अस्पताल जनस्वास्थ्य सरोकार ट्रस्टबाट चलेको छ । यो अस्पतालको सञ्चालक समितिमा कीर्तिपुर नगरपालिकाका मेयर रहन्छन् । समितिको १० सदस्यमध्ये पाँचजना स्थानीयवासी र पाँचजना ट्रस्टबाट चुनिन्छन् । अस्पताललाई मुख्य त आर्थिक समस्या परेको निर्देशक डा. नकर्मीले बताए । ‘सबै प्रकारको उपचारका लागि पर्याप्त उपकरण छैनन्, जलनको उपचार प्रक्रिया निकै महँगोसमेत छ । तर, यहाँ आएकामध्ये ९० प्रतिशत बिरामी गरिब हुन्छन्, उनीहरूलाई निःशुल्क उपचार दिनुपर्ने अवस्थाको हुन्छ । बजेट नहुँदा उनीहरूको उपचार गर्न कठिन हुने गरेको छ,’ डा. नकर्मीले भने, ‘यसबाहेक हामीकहाँ सुरक्षित मातृत्व सेवा, डायलाइसिस सेवा पनि छ । प्राथमिकतामा भने जलन उपचार सेवा नै हो ।’
४६ बिरामी उपचाररत
आइतबार साँझसम्म अस्पतालमा उपचार गर्न भर्ना भएका जलनका बिरामी ४६ जना छन् । त्यसमध्ये आठजनाको बर्न आइसियू, पाँचजनाको जनरल आइसियूमा उपचार भइरहेको छ भने अन्य बिरामीको जनरल बेडमा उपचार भइरहेको छ । ‘अस्पतालमा भएका आइसियू बेडसंख्या पनि कम छ । जम्मा आठवटा मात्रै बर्न आइसियू छ । यसलाई थपेर २०–३० वटासम्म पुर्याउन आवश्यक छ । बेड अपुग भएपछि जलनका बिरामीलाई पनि जनरल आइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था छ,’ निर्देशक डा. नकर्मीले भने, ‘अन्य आइसियूभन्दा जलनका बिरामीको आइसियू फरक हुन्छ ।’
उनका अनुसार अस्पतालसँग जनशक्तिको समेत अभाव छ । सबै प्रकारका गरी चार सय कर्मचारी छन् । त्यसमध्ये १० जना बर्न विशेषज्ञ, पाँचजना मेडिकल अफिसर्स, डेढ सयजना नर्स, अन्य स्वास्थ्यकर्मी २५ जना र त्यसबाहेक प्रशासन, सरसफाइलगायतका कर्मचारी छन् । डा. नकर्मीका अनुसार हालको अवस्थामा अस्पतालका लागि यो जनशक्ति पुग्दो होइन । बिरामीको चापअनुसार २० जना बर्न विशेषज्ञ चाहिने अस्पताल प्रशासनले जनाएको छ ।
कीर्तिपुरसँग विशेष साइनो
कीर्तिपुर अस्पतालको कीर्तिपुर नगरपालिकासँग विशेष किसिमको सम्झौता छ । संरक्षकका रूपमा कीर्तिपुर नगरपालिका रहन्छ भने यहाँ उपचार गर्न आउने कीर्तिपुरवासीलाई उपचारमा ५० प्रतिशत छुट हुन्छ ।त्यस्तै, अस्पतालमा ओपिडी जाँच गराउँदा २५० रुपैयाँ शुल्क लाग्छ । तर, जलनको उपचार आफैँमा महँगो भएकाले सरकारले दिएको रकम कम हुने हुँदा बिरामीसँग शुल्कसमेत लिएर उपचार गर्नुपर्ने अवस्था रहेको निर्देशक डा. नकर्मीको भनाइ छ । उनका अनुसार कीर्तिपुर नगरपालिकासँग हरेक वर्ष ८० लाख दिने सम्झौता भएको छ । अस्पताललाई विभिन्न संघ–संस्थाले पनि अनुदानस्वरूप रकम उपलब्ध गराउने गरेका छन् । गत कात्तिकमा मात्रै सरकारले दुई करोड अनुदान दिएको थियो । वार्षिक रूपमा सरकारबाट दुईदेखि चार करोडसम्म अस्पतालले अनुदान पाउँछ ।
अघि बढेन अस्पताल भवनको निर्माण
कीर्तिपुर अस्पताल आफैँले बिरामीको चाप बढेको भन्दै नयाँ भवन बनाउने योजना अघि सारेको छ । दुई वर्षदेखि अघि सारिएको उक्त योजनामा भने अझै काम सुरु भएको छैन । डिपिआर तयार भए पनि निर्माण सुरु नभएको डा. नकर्मीले जानकारी दिए । उनका अनुसार स्रोत सुनिश्चितता नभएकाले भवन निर्माण सुरु हुन नसकेको हो । अस्पतालले कीर्तिपुर नगरपालिका र स्वास्थ्य मन्त्रालयसँग स्रोत माग गरिहेको छ । तर पुग्दो उपलब्ध नभएको अस्पताल प्रशासनले जनाएको छ ।
डा. किरण नकर्मी, निर्देशक, कीर्तिपुर बर्न अस्पताल
हामी समस्यै–समस्यामा छौँ, एक सय बेडमध्ये सबैमा उपचार सम्भव छैन, केही बेड नर्मल बेड हुन्, तर बिरामी धेरै भएपछि सबै किसिमका
प्रयोग गर्नुपरेको छ । जलनका बिरामीको चाप खेपिरहँदा पनि यो अस्पताल सरकारको
प्राथमिकतामा परेको छैन ।
डा. प्रकाश बुढाथोकी, प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कीर्तिपुरमा मात्रै होइन, अन्य अस्पतालमा पनि जनशक्ति अभाव छ, अहिले त्यसैलाई व्यवस्थित गर्नुको विकल्प छैन । वीर अस्पतालको जलन केन्द्रलाई पनि जनशक्ति अभाव छ, जेनतेन चलाइरहेका छौँ, नेपालमा बर्नमा विशेषज्ञता हासिल गरेका चिकित्सक एक दर्जन हाराहारी होलान्, अन्य कतिपयलाई तालिम दिएर भए पनि उपचारमा लगाउने गरिएको छ ।
वीर अस्पतालको जलन उपचार केन्द्रमा जाँदैनन् बिरामी
गत २९ भदौमा देशकै जेठो वीर अस्पतालमा दुई शल्यक्रिया कक्षसहित १५ शड्ढयाको जलन उपचार केन्द्र स्थापना भएको थियो । तर, यहाँ उपचार गर्न आउने बिरामी न्यून छन् । अस्पताल प्रशासनका अनुसार बिरामीलाई यहाँको उपचार सेवाबारे थाहा नहुँदा कम आउने गरेका छन् । अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र छ । यो उपचार केन्द्रको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनको उपचारमा नयाँ सेवा थपिएको घोषणा गरेका थिए । तर, पर्याप्त बिरामी नआउँदा यहाँका बेड खाली छन् । अस्पतालले आइतबार उपलब्ध गराएको तथ्यांकअनुसार पाँचजना मात्रै बिरामी उपचार गराइरहेका छन् । यस्तै, ओपिडीमा समेत सेवा लिन आउने बिरामी न्यून छन् । जलन उपचारका लागि डा. केडी जोशीले महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनको नाममा केन्द्र स्थापना गरिएको थियो । जलन उपचार केन्द्रमा दुईवटा शल्यक्रिया कक्ष, पाँच आइसियू बेड र १० वटा वार्डतर्फका बेड छन् । सरकारले करिब दुई करोड ८० लाखमा जलन उपचार केन्द्रको निर्माण गरेको हो । यो केन्द्र निर्माण भएपछि कीर्तिपुर बर्न अस्पताल बिरामीको चाप कम हुने अनुमान गरिएको थियो ।
कमलपोखरी ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुने चार पुगे
कमलपोखरीस्थित शान्दार मःमः सेन्टरमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका ११ मध्ये उपचारकै क्रममा हालसम्म चारजनाको ज्यान गइसकेको छ । अझै सातजनाको उपचार भइरहेको छ । उनीहरूको अवस्था सुधारोन्मुख रहेको कीर्तिपुर बर्न अस्पतालमा निर्देशक डा. किरण नकर्मीले बताए । उनका अनुसार अस्पतालले स्रोतसाधन प्रयोग गरेर उपचार गर्दा पनि चारजनाको मृत्यु भएको छ । अन्यको अवस्था भने सकारात्मक रहेको उनको भनाइ छ । २४ माघमा शान्दार मःमः सेन्टरमा भएको ग्यास विस्फोटपछिको आगलागीबाट १४ जना घाइते भएका थिए । घाइतेहरूमध्ये तीनजना उपचारपछि घर फर्किएका अस्पतालले जनाएको छ ।
बिरामी भेटघाट गर्न नेता कार्यकर्ताको भिड लागेपछि अस्पतालले गर्यो कडाइ
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा शनिबार बेलुन बिस्फोट भएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्था बुझ्न शीर्ष नेताहरू अस्पताल पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पनि आइतबार अस्पतालमा पुगेर अर्थमन्त्री, मेयर र अन्य जलनका बिरामीको अवस्था बुझेका छन् । उनले जलनका सबै बिरामीको उपचारमा संवेदनशीलता अपनाउन अस्पताल प्रशासनलाई आग्रह गरेका थिए ।
यस्तै, घाइतेद्वय अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न प्रधामन्त्री केपी ओली पनि आइतबार अस्पताल पुगेका थिए । सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखकलगायत शीर्ष नेता र कार्यकर्ताहरू पनि बिरामी भेट्न अस्पताल पुगेका थिए । उपचाररत अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न पुग्ने क्रम बढेपछि अस्पताल प्रशासनले कडाइ गरेको छ ।
आइसियूमा उपचार भइरहेको वेला भेटघाट गर्न राजनीतिक नेताहरूको भिड लागेपछि अस्पतालले आइतबार सूचना जारी गर्दै भेटघाटमा रोक लगाएको छ । अर्को सूचना जारी नभएसम्म कसैलाई पनि भेटघाट गर्न नदिने अस्पतालले जनाएको छ । ‘आइसियूमा उपचार भइरहेका वेला नेता र कार्यकर्ता भेट्न आउनुभएको छ, यो राम्रो होइन, यसरी भेट्दा संक्रमण फैलन सक्छ, त्यसैले भेटघाट बन्द गरिएको हो,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँहरू मात्रै होइन, अन्य ११ जना बिरामीको समेत आइसियूमा उपचार भइरहेको छ, अस्पतालमा जथाभावी छिर्न मिल्दैन ।’ त्यस्तै, अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिअनुसार अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख छ ।