भरुवा बन्दुक र गाँजासहित एकजना पक्राउ

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

भरुवा बन्दुक र एक किलो पाँच सय ग्राम लागुऔषध गाँजासहित प्रहरीले कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–७ बस्ने ७२ वर्षका आइतसिं गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

गुरुङले लागुऔषध गाँजा सञ्चय तथा बिक्री-वितरण गर्नुका साथै हातहतियार (बन्दुक) राखी वन्यजन्तु सिकार गर्ने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय पोखरा बगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको शर्माले जानकारी दिए।

पक्राउ परेका गुरुङको घरकोठा खानतलासी गर्दा सुत्ने कोठाभित्र अवैध रूपमा राखिएको एकनाले भरुवा बन्दुक एक थान, सोही बन्दुकमा लाग्ने बारुदजस्तो देखिने कालो पदार्थ तीन सय ५० ग्राम र गाँजा एक किलो पाँच सय ग्राम फेला परेको शर्माले जानकारी दिए। गुरुङलाई हातहतियार तथा खरखजाना र लागुऔषधसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार