\'नाे केबलकार\' समूहकाे अराजकता : याक्थुङ चुम्लुङका उपाध्यक्षमाथि हातपात र मोसो

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

याक्थुङ चुम्लुङका उपाध्यक्ष पदम चेन्जी माबोमाथि पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आएका समूहले धरानमा हातपात र मोसो दलेका छन् ।

लिम्बू समुदायको जातिय संस्था याक्थुङ चुम्लुङको केन्द्रीय महाधिवेशनपश्चात निर्वाचित नयाँ नेतृत्वले आगामी कार्यदिशाका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पुगेर उक्त समूहले माबोमाथि हातपात र मोसो दलेका हुन् । 

ताप्लेजुङको पाथीभरामा केबलकार बन्नु पर्छ भनेर अभिव्यक्ति दिएको भन्दै उनीमाथि विरोधी समूहले हातपात गरेको हो । ताप्लेजुङ घर भएका माबो नागरिक उन्मुत्ति पार्टीका कोशी प्रदेश सचिव समेत हुन् । माबोको समूहले लिम्बूहरू किराँत नभएको भन्दै अभियान सञ्चालन गर्दै आएका छन् । जसपा धरानका उपाध्यक्ष सुमन चेम्जोङ, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य अमर इजमलगायतका नेताहरू पत्रकार सम्मेलन स्थलमा घुसेर ‘वंश गद्दार’को नारा लगाउँदै माबोमाथि हातपातसमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आफुमाथि आक्रमण गर्नेलाई कानुनी कार्बाही गर्न माबोले माग गरेका छन् ।

माबोले केबलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबलकारको विरोध गर्नेहरूलाई गालीगलौज गरेको भन्दै मोसो दलेर सचेत गराइएको ‘नो केवलकार’का पक्षधरका अमर इजमले बताए । उनले आन्दोलनको विपक्षमा बोल्नेलाई जो कोहीलाई नछाड्ने धम्की दिएका छन् ।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले समाजमा अराजकता मच्चाउने छुट नभएको भन्दै घटनालाई नजिकबाट नियालेको बताए । उनले भने, ‘अराजक काम गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइनेछ र कारबाही गरिनेछ ।’
 

सुझावित समाचार