पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरूको पुनर्निर्माणका लागि विस्तृत क्षति आकलन (डिडिए) गर्न प्राविधिकसहितको टोली जाजरकोट र रुकुमपश्चिम पुगेको छ।
राष्ट्रिय विपत् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिवहरू वेदनिधि खनाल, सुदीपविक्रम भट्ट र रामबहादुर केसीसहितको टोलीले आज जाजरकोट पुगेर त्यहाँका स्थानीय पालिका, सहरी विकास मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट खटिएका इन्जिनियरहरूलाई तालिम दिएको छ। उनीहरू पर्सिदेखि फिल्डमा खटिनेछन्। यसैगरी रुकुम पश्चिममा पर्सी र निपर्सि तालिम सम्पन्न गरी टोली फिल्डमा खटिनेछ।
यसपछि रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा तालिम सम्पन्न गरी अर्को टोली त्यहाँको विस्तृत क्षति आकलन गर्न खटिने उपसचिव भट्टले जानकारी दिए।
पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको प्राविधिक टोलीले पनि आजदेखि जाजरकोटको भेरी नगरपालिका र नलगाढ नगरपालिकाका विभिन्न वडाहरूमा विस्तृत क्षति आकलन सुरु गरिसकेको छ।