राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले फेसबुकमा गरेको टिप्पणीप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ। शाहीले सभाका सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा गैरजिम्मेवार ढंगले आफ्नो धारणा व्यक्त गरेको भन्दै आइतबारको राष्ट्रिय सभा बैठकले खेद प्रस्ताव पारित गरेको हो।
प्रतिनिधिसभाका सदस्य शाहीले केही दिनअघि फेसबुकमा लेखेका थिए, ‘वृद्धाश्रममा जानुपर्ने आदरणीय बाजेहरू राष्ट्रिय सभामा भत्ता खान गएकाले कसैले पनि लाइक, सेयर र सरकारले गरेका गलत गतिविधिहरूको कमेन्ट गर्न नपाउने मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरेका छन्। यो धर्तीका लागि केही दिनका पाहुना भएका बाजेहरूले आउने पुस्ताहरूको उज्वल भविष्य कहाली लाग्दो अन्धकार बनाइदिए।’
शाहीले यथार्थभन्दा बाहिर गई विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी कपोकल्पित र झुठ कुरा गरेको राष्ट्रिय सभाको ठहर छ।
‘उक्त विधेयकमाथि सैद्धान्तिक छलफल पश्चात विधेयक उपर २८ जना माननीय सदस्यहरुबाट विभिन्न दफामा ७८ वटा संशोधन प्राप्त भई उक्त संशोधनमाथि सभाको विधयन व्यवस्थापन समितिमा सरोकारवाला पक्ष, सम्बन्धित मन्त्रालय र संशोधनकर्ता माननीय सदस्यहरुसँग १४ वटा बैठकमा दफलवार छलफल गरी प्रतिवेदन तयार पारेको र उक्त समितिको प्रतिवेदनमा उल्लेखित २१ वटा बुँदामा रहेका संशोधनसहित सभाको २०८१ माघ २८ गतेको बैठकबाट उक्त विधेयक पारित भएको अवस्था छ,’ खेद प्रस्तावमा उल्लेख छ।
