दलित समुदायमाथि भेदभावका घटना बढ्दै गएको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्माको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले जातीय विभेद निर्मूल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताए । ‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चितता हुने गरी राख्नुपर्छ भन्ने मान्छे हुँ । त्यहीअनुसार सबै राजनीतिक दलबिच सहमति भएको हो । जातीय विभेदलाई निर्मूल हुनुपर्छ भनेर म सधैँ लागिपरेको छु,’ उनले भने ।
गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्ने विशेष प्रहरी डेस्क बनाउने बताए । ‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क बनाउँछु । उसलाई ७७ जिल्लामै डेस्क बनाउन भन्छु,’ उनले भने ।
आफू गृहमन्त्री भएपछि नेपाल प्रहरीमा दलित समुदायबाट डम्बर विश्वकर्मा डिआइजी भएको बताए । ‘डम्बर विश्वकर्मा एसएसपी हुनुहुँदोरहेछ । डिआइजी बढुवा गर्दा डम्बरलाई नछुटाई गर्नु भनेँ । नेपाल प्रहरीमा पहिलोपटक एकजना डिआइजी हुनुभयो,’ उनले भने ।
गृहमन्त्री लेखकमाथि नै दलितमाथि ज्यादतीका लागि प्रहरी परिचालन गरेको विषयमा दलित अधिकारकर्मीले आन्दोलन गर्दै आएका छन् । समाजमा एकपछि अर्का दलितमाथि भेदभावका घटना बढेपछि संघर्ष समितिले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।