प्रधानमन्त्री केपी ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म तीन अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपत् व्यवस्थापन समितिबाट सिफारिस भई रितपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको बताए। उनले ०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरूका लागि थप ८० करोड निकासा भएको जानकारी दिए । जाजरकोट भूकम्पको विस्तृत क्षति आकलनका लागि इन्जिनियरहरूको पहिलो टोली यसै हप्तादेखि फिल्डमा खटिने बताए ।
उनले भने, ‘जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म तीन अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको छ। रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपत् व्यवस्थापन समितिबाट सिफारिस भई रितपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको छ। ०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरूका लागि थप रु. ८० करोड निकासा भएको छ। जाजरकोट भूकम्पको विस्तृत क्षति आकलनका लागि इन्जिनियरहरूको पहिलो टोली यसै हप्तादेखि फिल्डमा खटिनेछ ।’
प्रधानमन्त्री ओलीले मनसुनजन्य विपत् एवं भूकम्पबाट प्रभावितहरूको समस्या समाधानका लागि विपत् व्यवस्थापन राष्ट्रिय परिषद्को मिति २०८१ पुस २८ गते बसेको बैठकले एक खर्ब एक अर्बको पुनर्निर्माण तथा पुनर्स्थापना योजना स्वीकृत गरी निजी आवास र भौतिक पूर्वाधार पुनर्निर्माणका लागि स्पष्ट मार्गचित्र तयार भएको बताए ।
उनले सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधारका कार्य गरिरहेको छ र पहिले देखिएका समस्याहरू बिस्तारै समाधानउन्मुख रहेको बताए ।