शक्तिशाली देशहरूको आणविक भण्डार आधा घटाउन चाहन्छन् ट्रम्प

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुससमक्ष आणविक भण्डार र रक्षा बजेट घटाउनेबारे छलफल गर्न वार्ताको प्रस्ताव राखेका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले ‘परिस्थिति सम्हालिएपछि’ चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने बताए । पुटिनसँग टेलिफोन गरेर युक्रेनमा हाल चलिरहेको युद्ध अन्त्यका लागि वार्ता सुरु गर्ने विषयमा छलफल गरेका ट्रम्पले रुसी नेताले ‘ठुलो स्तरमा’ हतियार कटौती गर्न सहमति जनाएको पनि जानकारी दिए ।

‘म पहिलो उच्चस्तरीय भेटघाट चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिनमध्ये एकजनासँग गर्न चाहन्छु । सो भेटमा म हाम्रो सैन्य बजेट आधाले घटाऔँ भन्नेछु,’ ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटअघिको पत्रकार भेटघाटमा भनेका थिए । ट्रम्पले थप नयाँ आणविक हतियार निर्माण गर्नुपर्ने कुनै कारण नभएकोमा जोड दिए । अमेरिकासँग पहिले नै विश्वलाई ‘सयपटक’सम्म ध्वस्त पार्न सक्ने परिणामको आणविक हतियार रहेको उनको दाबी छ । 

‘आज पनि हामी नयाँ आणविक हतियार निर्माण गरिरहेका छौँ । रुसीहरू पनि आणविक हतियार निर्माण गरिरहेका छन् । त्यस्तै, चीनले आणविक हतियार निर्माण गरिरहेको छ । चीन त आणविक हतियारको संख्यामा धेरै पछाडि रहेकाले हामीसँग बराबर हुने होडमा छ । पाँच वा छ वर्षभित्र उनीहरूको आणविक हतियारको संख्या हामीबराबर हुनेछ,’ ट्रम्पले भने । अमेरिकाले कुनै दिन आणविक हतियार प्रयोग गर्नुपर्ने परिस्थिति आए दुःखद हुने पनि उनले बताए । ‘त्यो सायद प्रलय हुनेछ,’ उनले भने ।

विश्वव्यापी आणविक भण्डारको अवस्था
अमेरिकास्थित गैरनाफामुखी संस्था ‘आम्र्स कन्ट्रोल एसोसिएसन’का अनुसार हाल विश्वमा रहेको आणविक हतियारमध्ये अधिकांश अमेरिका र रुससँग छ । दुई मुलुकसँग मात्र अनुमानित १० हजार ८०५ आणविक वारहेड छन् । एसोसिएसनका अनुसार चीनसँग भने ६०० वटा मात्र आणविक वारहेड रहेको अनुमान छ । बाँकी आणविक हतियारधारी देश फ्रान्स, बेलायत, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियासँग कुल एक हजार आणविक वारहेड रहेको विश्वास गरिन्छ । 

अमेरिका विश्वमा सेनामा सबैभन्दा बढी खर्च गर्ने देश हो । अमेरिकी कंग्रेसले आर्थिक वर्ष २०२५ का लागि देशको रक्षा खर्चका लागि ८९५ अर्ब डलर रकम छुट्याएको छ । ¥यान्ड कर्पोरेसनले यो वर्ष चीनको सैन्य खर्च १८५ अर्ब डलर हुने अनुमान गरेको छ । ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज’को अनुमानअनुसार गत वर्ष रुसको सैन्य खर्च कुल १४५.९ अर्ब डलर थियो । तथापि, ती देशको कमजोर क्रयशक्तिका कारण तिनको सैन्य बजेटको प्रक्षेपण तिनको वास्तविक आकारभन्दा कम देखिएको हुन सक्ने अनुमान पनि गरिन्छ ।

अर्को वर्ष फेब्रुअरीमा ‘नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि’को निर्धारित म्याद समाप्त हुँदै छ । यसले रणनीतिक आणविक हतियारको तैनाथीमा सीमा तोकेको छ । सोमबार मात्र रुसी उपविदेशमन्त्री सर्गेई ¥याबकोभले यो सन्धि नवीकरण हुने परिस्थिति नदेखिएको बताएका थिए । ट्रम्पको पहिलो कार्यकालमा मस्कोबाट यो सन्धि उल्लंघन भएको आरोप लगाउँदै वासिंटन ‘मध्यम–दूरीको आणविक बल सन्धि (आइएनएफ)’बाट बाहिरिएको थियो । त्यसपछि विश्वका दुई ठुला आणविक शक्ति अमेरिका र रुसबिच कार्यान्वयनमा रहेको एक मात्र हतियार नियन्त्रणसम्बन्धी सम्झौता ‘नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि’ हो । 

ट्रम्पले आइएनएफबाट बाहिरिएपछि पुटिन र सीसँग तीनतर्फी हतियार नियन्त्रण सम्झौता गर्ने प्रयास गरेका थिए । तथापि, त्यो प्रयास सफल हुन सकेन । मस्कोले सम्झौताप्रति रुचि देखाए पनि बेइजिङले भने त्यसलाई अस्वीकार गरेको थियो । बेइजिङले प्रस्ताव बहिष्कार गर्नुमा अन्य विभिन्न कारणसहित आइएनएफबाट बाहिरिने वासिंटनको निर्णयलाई उद्धृत गरेको थियो । 

–अलजजिराबाट

See More On

सुझावित समाचार