उदयपुरको सदरमुकाम गाईघाटबाट जुवा (कौडा) र तास खेलिरहेको अवस्थामा तीन लाख १८० रुपैयाँ नगदसहित १२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसिपी हरिहरनाथ योगीका अनुसार कौडा खेल्दै गरेको अवस्थामा गएको शनिबार साँझ पक्राउ परेका हुन्।
उनका अनुसार सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिका– १३ हवाईफिल्डबाट विशेष सूचनाका आधारमा स्थानीय रामप्रसाद राईको घरमा जुवा खेलिरहेको अवस्थामा नेपाली नगद तीन लाख १८० रुपैयाँ र कौडा २२ वटा र तीन बुक ताससहित १२ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा घरधनी त्रियुगा नगरपालिका– १३ का वर्ष ४५ का रामप्रसाद राई, वडा ८ का वर्ष ७५ का मदन राउत, वडा ७ का वर्ष ४५ का रितबहादुर राउत, वर्ष ६२ का जालबहादुर मगर, वडा १६ का वर्ष २७ का कुमार कार्की, वडा १२ का वर्ष ३४ का राजिन्द्र राई, वडा १३ का वर्ष ५० का चिरञ्जीवी राई, वडा ४ का वर्ष ५२ का तिलकबहादुर बुढाथोकी, रौतामाई गाउँपालिका– ३ का वर्ष ३५ को राजकुमार कटुवाल, वर्ष ३५ का बालकृष्ण राई, वर्ष ३० का निरज कटुवाल र जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका– ३ का वर्ष २२ राकेश चौधरी रहेको योगीको भनाइ छ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान जारी रहेको उनको भनाइ छ।