माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा सरकारले बल प्रयोग गरे दुर्भाग्य हुने बताएका छन् । शनिबार माओवादी दमकको दोस्रो नगर अधिवेशन तथा खबरदारीसभामा उनले जबर्जस्ती केबुलकार बनाएमा प्रतिकार हुने बताए ।
‘मैले संसद्बाट पनि बोलेको छु । किराँतीहरूको आस्थाको केन्द्र मुक्कुमलुङको समस्याको समाधान सरकारले बल प्रयोग गरेर, प्रहरी लगाएर र गोली हानेर गर्न खोजे दुर्भाग्य हुनेछ,’ उनले भने, ‘यो समस्याको समाधान वार्ता र समझदारीको मध्यमबाट समाधान खोजिनुपर्छ । सरकारलाई खबरदारी गर्न चाहन्छु । यो ऐतिहासिक र धार्मिकस्थल समझदारीको साथ अघि बढाउनको सट्टा जबर्जस्ती बल प्रयोग गरियो भने त्यसको प्रतिरोध हुन्छ । त्यो प्रतिरोधमा हाम्रो साथ रहनेछ ।’
प्रचण्डले झापाको कमल गाउँपालिकामा निर्माणाधीन आदिवासी रंगशालालाई नाम परिवर्तन गरेर मदन भण्डारी रंगशाला बनाउन खोजेको भन्दै आपत्ति जनाए । ‘रंगशालामा आदिवासीको संस्कृति र पहिचान झल्काउनुको सट्टा त्यसलाई नाम परिवर्तन गरेर फेरि मदन भण्डारी बनाउन खोज्नु गलत छ । मदन भण्डारी त लोकमार्ग नै छ,’ उनले भने, ‘नाम परिवर्तन गर्न खोजे त्यसविरुद्ध लाग्नुपर्छ । त्यसमा पनि हाम्रो साथ रहनेछ ।'
प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक पुगेका प्रचण्डले ओलीले संविधानमा स्थापित भएको संघीयता, गणतन्त्र, महिला, आदिवासी, दलित, मधेशी, मुस्लिमको अधिकार मन नपरेको बताए ।