कोशीमा केन्द्रित माओवादी : ६ महिनामा प्रचण्ड पाँचपटक कोशी प्रदेश आए, १२ फागुनमा फेरि झापा आउँदै

मुक्कुमलुङमा सरकारले बल प्रयोग गरे दुर्भाग्य हुन्छ : प्रचण्ड

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

सत्ताबाट बहिर्गमन भएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूर्वी नेपालमा दौडधुप बढेको छ । माओवादीको आधार कमजोर मानिएको कोशी प्रदेशमा प्रचण्डले पछिल्लो समय सक्रियता बढाएका छन् । गत भदौयता मात्र प्रचण्ड कोशी प्रदेशमा पाँचपटक आइसकेका छन् । पार्टीको नगर अधिवेशनजस्ता साना कार्यक्रमलाई पनि प्रचण्डले महत्व दिएका छन् । पूर्व आएर कार्यकर्तासँग ‘मर्निङ वाक’ जाने, सडकमा भक्का खाने, कार्यकर्ताको घरमा केराको पातमा खाना खानेलगायत गरिरहेका छन् । 

प्रचण्ड गत माघमा मात्र दुईपटक कोशी प्रदेशका विभिन्न जिल्ला आएर फर्किएका थिए । शनिबार पनि उनी कोशीको झापा र मोरङमा सहभागी भए । झापाको दमकमा भएको माओवादीको दोस्रो नगर सम्मेलन र माओवादीको प्रदेश परिषद् बैठकलाई सम्बोधन गरेर उनी काठमाडौं फर्किए । उनी २३ भदौमा उदयपुर आएका थिए । त्यहाँ माओवादी कोशी प्रदेश कमिटीको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी भए । 

गत २९ भदौमा कोशी प्रदेश आएका प्रचण्ड दुई दिन बसे । झापा र मोरङमा भएका तीन कार्यक्रममा सहभागी भए । १५ पुसमा झापाको गौरीगन्ज आएका प्रचण्डले पार्टीको गाउँ अधिवेशन तथा खबरदारी सभामा सहभागी भएर फर्किए । उपनिर्वाचनमा पार्टीले गाउँपालिका अध्यक्ष जितेपछि उनी ५ माघमा मोरङको ग्रामथान गाउँपालिका आएर मतदातालाई धन्यवाद दिए । १४ माघमा तेह्रथुम पुगेर उनी दुई दिन विभिन्न कार्यक्रममा सहभागी भए । त्यसपछि उनी शनिबार कोशी आएका हुन् । लगत्तै १२ फागुनमा पनि झापाको कचनकवल आउने कार्यक्रम रहेको माओवादी झापाका संयोजक राजु आचार्यले बताए । प्रचण्डले त्यसवेला तराई मधेश जनता जागरण अभियानको शुभारम्भ गर्नेछन् ।

माओवादीका लागि पूर्वकमजोर क्षेत्र हो । ९३ सदस्य रहेको कोशी प्रदेश सभामा माओवादीबाट १३ जना सदस्य छन् । ५६ निर्वाचन प्रदेश सभातर्फ क्षेत्र रहेको प्रदेश सभामा नौजनाले मात्र प्रत्यक्षतर्फ जितेका थिए । प्रतिनिधिसभामा २८ वटा निर्वाचन क्षेत्र रहेको कोशीमा माओवादी चार निर्वाचन क्षेत्रमा मात्र विजयी भएको छ । कोशी प्रदेशमा १३७ स्थानीय तहमध्ये माओवादीले १३ वटा मात्र स्थानीय तहको प्रमुख जितेको माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए । 

पछिल्लो समय माओवादीमा आकर्षण बढेकाले अध्यक्ष प्रचण्ड बारम्बार आउने गरेको माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले बताए । ‘प्रतिपक्षमा पुगेपछि उहाँ (प्रचण्ड) देश दौडाहामा हुनुहुन्छ । त्यो पनि पूर्वबाटै सुरु भएको हो । पूर्वमा पार्टी हुँदैन कि भन्ने निराशामा पुगेको वेलामा पूर्वमा आकर्षण छ भनेर भन्यौँ । झापामा फिल्डमै पनि देखायौँ । पार्टी प्रवेशले उत्साह भर्‍यो,’ उनले भने, ‘जनतामा तपाईंप्रति आकर्षण छ । जनताले तपाईंलाई रुचाएका छन् भनेर हामीले भनेका छौँ । त्यो अवस्था हामीले सिर्जना गरेपछि उहाँ आइरहनुभएको छ ।’ 

आङ्बोले चेतनाको हिसाबले पूर्व अगाडि रहेका कारण पनि प्रचण्ड आइरहेको बताए । ‘चेतनाको हिसाबले अहिलेको संशोधनवाद बुझ्ने र अबको समाजवाद बुझ्ने चेतना पनि पूर्वमा छ । पूर्वमा माओवादीको पक्षमा जनमत सिर्जना गर्न सकियो भने त्यसको प्रभाव अन्य सहरी क्षेत्रमा र देशैभरि पुग्न सक्छ भन्ने यहाँले बुझ्नु भएको छ । त्यही भएर पूर्व आइरहनुभएको छ,’ आङ्बोले भने, ‘पहिलाको मजदुरको आन्दोलनको केन्द्र, पछिल्लो पहिचानको आन्दोलनको केन्द्र र पछिल्लो भ्रष्टाचारविरुद्धको आन्दोलनसम्म आइपुग्दा यो चेतनाको नेतृत्व पूर्वले गर्न सक्छ भनेर नै उहाँ अहिले पूर्व आइरहनुभएको हो । उपनिर्वाचनले पूर्वमा मत र संख्याको हिसाबले पूर्वमा पहिलो पार्टी भएपछि पूर्वमा उत्साह र आकर्षण छ भन्ने देखेर नियमित आउनुभएको हो ।’

माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङले प्रदेश पार्टीले पनि कार्यक्रम आयोजना गरिरहेको र त्यहाँ अध्यक्ष प्रचण्डलाई निमन्त्रण गरिरहेको बताए । जसलाई स्विकारेर प्रचण्डले पूर्वलाई महत्व दिइरहेको उनको भनाइ छ । प्रचण्डले पनि पूर्व समाजवादी चेतनाको केन्द्र हुन सक्ने भएकाले बारम्बार आइरहेकोे बताएका छन् । ‘पूर्व नेपालमा सामन्तवाद, निरंकुशता, एकात्मकताका विरुद्धमा केन्द्रविन्दु रह्यो । त्यस संघर्षको सुरुवात थलोका रूपमा पूर्वलाई चिनिन्छ । पूर्वका जनताको राजनीतिक चेतना विराटनगरमा भएको मजदुर आन्दोलन र झापा विद्रोहलाई लिन सकिन्छ । तर, अहिले कताकता फेरि पूर्वलाई धोका दिएको विश्वासघात गरेको अनुभूति भएको छ,’ दमकमा भएको सभामा प्रचण्डले भने ।

मुक्कुमलुङमा सरकारले बल प्रयोग गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
प्रचण्डले ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा सरकारले बल प्रयोग गरे दुर्भाग्य हुने बताएका छन् । शनिबार माओवादी दमकको दोस्रो नगर अधिवेशन तथा खबरदारीसभामा उनले जबर्जस्ती केबुलकार बनाएमा प्रतिकार हुने बताए । ‘मैले संसद्बाट पनि बोलेको छु । किराँतीहरूको आस्थाको केन्द्र मुक्कुमलुङको समस्याको समाधान सरकारले बल प्रयोग गरेर, प्रहरी लगाएर र गोली हानेर गर्न खोजे दुर्भाग्य हुनेछ,’ उनले भने, ‘यो समस्याको समाधान वार्ता र समझदारीको मध्यमबाट समाधान खोजिनुपर्छ । सरकारलाई खबरदारी गर्न चाहन्छु । यो ऐतिहासिक र धार्मिकस्थल समझदारीको साथ अघि बढाउनको सट्टा जबर्जस्ती बल प्रयोग गरियो भने त्यसको प्रतिरोध हुन्छ । त्यो प्रतिरोधमा हाम्रो साथ रहनेछ ।’

प्रचण्डले झापाको कमल गाउँपालिकामा निर्माणाधीन आदिवासी रंगशालालाई नाम परिवर्तन गरेर मदन भण्डारी रंगशाला बनाउन खोजेको भन्दै आपत्ति जनाए । ‘रंगशालामा आदिवासीको संस्कृति र पहिचान झल्काउनुको सट्टा त्यसलाई नाम परिवर्तन गरेर फेरि मदन भण्डारी बनाउन खोज्नु गलत छ । मदन भण्डारी त लोकमार्ग नै छ,’ उनले भने, ‘नाम परिवर्तन गर्न खोजे त्यसविरुद्ध लाग्नुपर्छ । त्यसमा पनि हाम्रो साथ रहनेछ ।'

प्रधानमन्त्री केपी ओलीको गृृहनगर दमक पुगेका प्रचण्डले ओलीले संविधानमा स्थापित भएको संघीयता, गणतन्त्र, महिला, आदिवासी, दलित, मधेशी, मुस्लिमको अधिकार मन नपरेको बताए । 

See More On

सुझावित समाचार