सूचना माग्ने पक्षको पनि नियत सही हुनुपर्छः प्रमुख आयुक्त डा. आचार्य

शनिबार, ३ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले सूचना माग्ने पक्षको नियत सही हुनुपर्ने बताएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासंघले हेटौँडामा आयोजना गरेको ‘सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक’ कार्यक्रममा उनले अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताएका हुन् ।

प्रमुख आयुक्त डा. आचार्यले एउटा उद्देश्यको लागि सूचना माग गरेर अर्को प्रयोजनाको निम्ति प्रयोग हुने प्रवृत्ति बढेकाले सूचना माग्नेको नियत सहि हुनुपर्नेमा जोड दिए । सूचनाको दुरुपयोग भइरहेको भन्दै उनले नागरिकको अधिकार कुण्ठित गर्ने काम नगर्न आग्रह गरे ।

सूचनाको वर्गीकरण हुने उल्लेख गर्दै उनले दिन मिल्ने र नमिल्ने छुट्याएर गोपनियता कायम गरी दिन मिल्ने सूचनाहरू मागकर्तालाई दिन आग्रह गरे । सूचना मागको प्रयोजन के–को लागि हो, खुल्नुपर्ने उनको भनाइ थियो । प्रमुख आयुक्त आचार्यले सूचना मागकर्ताले सबै माग गरिएको सूचना नपाउने पनि स्पष्ट पारे ।

‘नागरिक पीडित छ वा छैन, राज्य पारदर्शिता छ वा छैन र नागरिकले अनाहकमा दुःख पाइरहेको छ भन्ने विषयमा मात्र सूचना माग्न पाउने व्यवस्था छ,’ उनले भने, ‘अनाहाकमा कसैलाई दुःख दिनकै लागि र दुरुपयोग गर्न सूचना दिनुपर्ने बाध्यता छैन ।’

डा. आचार्यले कार्यालयहरूले आफ्ना सूचना अधिकारीहरूलाई अद्यावधिक गर्नुपर्नेमा पनि जोड दिए । कार्यालयहरूले २० वर्षभन्दा अगाडिको सूचना पनि आवश्यक रूपमा दिनुपर्ने बताए। 

पत्रकार महासंघका अध्यक्ष उमीदप्रसाद बागचन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले स्थानीय तहमा गरिएको सूचनाको हक कार्यान्वयन परीक्षण र राष्ट्रिय जन वकालत मञ्च नेपालका अनुसन्धानकर्ता भोला भट्टराईले सीमान्तकृत चेपाङ समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारका लागि सूचना र सञ्चार क्षेत्रको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
 

सुझावित समाचार