कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटामा गड्यौलाबाट प्राङगारिक मल उत्पादन सुरु गरिएको छ । त्रिवेणी टोल विपद् व्यवस्थापन समितिले गड्यौलाबाट प्राङगारिक मल उत्पादन गरेको हो ।
त्रिवेणी टोल विपद् व्यवस्थापन समितिका अध्यक्ष सरस्वती चन्द(सिंह)ले गाँउमा रसायनमुक्त कृषिका लागि प्राङगारिक मल उत्पादन गरिएको बताइन् । ‘अन्नबालीमा रसायनयुक्त मलको प्रयोगले मानव स्वास्थ्यमा समेत असर परेको छ,‘उनले भनिन, ‘त्यही भएर हामीले गड्यौला पालेर प्राङगारिक मल उत्पादन गरिरहेका छौँ ।’
उक्त बागफाँटामा गाईपालनका लागि खोर निर्माणसँगै उत्पादन गरिएको जैविक मल स्थानीय स्तरदेखि अन्य माग भएका स्थानमा बिक्रि वितरण गरिने अध्यक्ष चन्दले बताइन् । गत असोजमा जैविक मल उत्पादनकै लागि त्रिवोणीधाममा गौशाला निर्माणको कार्य सुरुवात गरिएको थियो ।
सिद्धवैजनाथ त्रिवेणी धामका अध्यक्ष मिलन सिंहले छाडा पशु चौपयाको व्यवस्थापन सहित जैविक मल उत्पादन गरेर स्थानीय स्तरमा रोजगारी सृजनाका साथै मानव स्वास्थ्यका लागि रसायनमुक्त खेतबारी बनाउने अभियान रहेको बताए । उनका अनुसार भीमदत्त नगरपालिका स्थानीय सरकार र निड्स नेपालको सहयोगमा गड्यौला मल उत्पादन सुरु गरिएको बताए । उनका अनुसार २४ खाचामा मल उत्पादन सुरु गरिएको छ ।