पूर्वी हिमाली तथा पहाडी जिल्ला संखुवासभाको एक मात्रै तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सु र तुवाँलोले १८ दिनदेखि उडान अवरुद्ध भएको छ । गत माघ १५ देखि लगातार रूपमा बाक्लो हुस्सु र तुवाँलोका कारण जहाज अवतरण गर्न नसकेको हो ।
जहाज उडानका लागि पर्याप्त भिजिविलिटी नभएपछि १८ दिनदेखि जहाज आउन नसकेको बुद्ध एयरलाइन्स तुम्लिङटारका स्टेसन मेनेजर रामकुमार लुइँटेलले बताए। उनले जहाज आउनका लागि कम्तीमा तीन हजारदेखि पाँच हजार दूरीको भिजिविलिटी खुल्नपर्ने बताउँदै बाक्लो हुस्सु र तुवाँलोले डाँडाकाँडा नै नदेखिने गरी ढाकिएको बताए। ‘डाँडाकाँडा वरपर बाक्लो हुस्सु लागेको छ। वर्षात् र हावाहुरी चले मात्रै मौसम खुल्छ र जहाज आउन सक्छ। नत्र यसै भन्न सकिने अवस्था छैन,’ लुइँटेलले भने।
हुस्सु र तुवाँलोले विमानस्थलनजिकैको डाँडाकाँडा ढाकेको छ। करिब तीन दिनदेखि जहाज नआउँदा यात्रुहरू अलपत्रमा परेका छन्। संखुवासभा हिमाली तथा पहाडी जिल्ला भएकाले सडक यातायातको सुविधा त्यति प्रभावकारी छैन। खाँदबारीदेखि धरान–विराटनगरका आधाभन्दा बढी भाग कच्ची सडकको यात्रा गर्नुपर्छ। जिल्लामा ठुला अस्पताल र शैक्षिक संघसंस्था नहुँदा धरान, विराटनगर र काठमाडाैं नै धाउनुपर्ने बाध्यता छ।
तुम्लिङटार विमानस्थलमा निजी कम्पनीको बुद्ध एयरको एटिआर ७२ सिटे जहाजले दैनिक उडान भर्दै आएको छ। यसअघि गुण एयरलाइन्स सञ्चालनमा रहे पनि अहिले बन्द छ। नेपाल वायु सेवा निगमको जहाजले तुम्लिङटार उडान भर्न बन्द गरेको लामो समय भइसकेको छ।