पर्सामा रोकिएन संस्थागत तस्करी

शनिबार, ३ फागुन, २०८१
डिजिटल संस्करण

पछिल्लो समय पर्सामा सिमानामा खटिएका सुरक्षाकर्मीहरुको मिलोमतोमा भित्रिँदै गरेको अवैध सामाग्रीमा तस्करी मौलाएको पाइएको छ। विगत तीन साताको प्रहरीको तथ्यांकले पर्सामा भन्सार छलिको अवैध सामग्री र बिल बिजकभन्दा बढी लोड गरेको सामग्री एक करोडभन्दा बढीको पक्राउ गरेको छ । 

प्रहरीले माघ २६ मा वीरगन्ज महानगरपालिका १४ गण्डक चोकबाट विशेष सुचनाको आधारमा बा.१ ख ९९०९ र ना.६ख ५४९१ नम्बरको ट्रक चेकजाँच गर्दा बिल बिजकभन्दा बढी सामग्री बोकेको फेला पारेपछि नियन्त्रणमा लिएको हो।  

पक्राउ परेको ट्रकबाट  बिल बिजकभन्दा बढी सामग्री भएको भन्दै पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। उक्त ट्रकबाट एक करोड ९५ लाख चार सय ९२ लाख रुपैयाँ, क्याल्कुलेटर र हेयर ट्रिमर लोड गरेको अवस्थामा भेटिएकाे हाे। 

बिल बिजकभन्दा बढी सामग्री बोकेको ट्रकलाई आवश्यक कारबाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको लम्सालले बताए । प्रहरीले भन्सार छलीको भित्रिएको सामग्री पक्राउ गर्नका लागी कुनै कसर बाँकी नराखेको जनाएको छ। पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले अवैध रुपमा भित्रिएको भन्सार छलीको सामग्री प्रहरीले पक्राउ गरिरहेको बताए । 

उनका अनुसार अहिले पर्सा प्रहरी अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै अवैध चोरी पैठारीलाई पनि नियन्त्रणमा सक्रिय भएर लागेको अवस्था छ । पर्सामा अवैध रुपमा चोरी पैठारी भएर भित्रिएको सामग्रीलाई पक्राउ गर्न प्रहरी युनिटलाई कडा निर्देशन दिइएको उनले बताए ।

अवैध रूपमा भित्रिएको सामग्री पक्राउ
पर्सा प्रहरीले विभिन्न स्थानहरूबाट भन्सार छली चोरीपैठारी गरी ल्याएका विभिन्न किसिमका इलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सुर्ती, चप्पललगायतका माल सामान बरामद जनाएको छ । माघ २२ मा बरामद भएका मालसमान अन्दाजी ५६ लाख ४६ हजार चार सय २९ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको हो । 

पर्सा प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, इलाका प्रहरी कार्यालय लंगडी, प्रहरी चौकी सिर्सियाले संयुक्त रूपमा सामान बरामद गरेका हुन् । ५७ लाख बराबरका सामान बरामद गरेको भएपनि उक्त सामान ल्याउने पक्राउ परे नपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालको विज्ञप्तिमा केही उल्लेख छैन । बरामद सामान कुन व्यापारीको हो त्योसमेत नखुलाइएको अवस्था छ । 

यसअघि माघ १४ गते सशस्त्र प्रहरीले मदन गुप्ता रुन्चेको गोदामबाट ५० लाख रुपैयाँ भन्दा बढीको तस्करीको कपडा र हार्डवेयरको सामान बरामद गरेको थियो ।
प्रस्तावित सीमा सुरक्षा गुल्मका इन्चार्ज डिएसपी लोकेन्द्र सुब्बाको टोलीले रुन्चेको गोदामबाट सामान बरामद गरेको थियो । तर, वीरगन्ज भन्सार कार्यालयमा सामान दाखिला गर्दा उक्त सामान कहाँबाट र कुन व्यक्तिको गोदामबाट बरामद भएको भनी उल्लेख नगरी रुन्चेलाई उन्मुक्ति दिइएको थियो । गुप्ताको गोदाममा छापा मार्दा साक्षीको रूपमा भन्सार कार्यालयका नायबसुब्बा सन्दीप पराजुलीसहित चारजना उपस्थित थिए । 

तर भन्सार दाखिला गर्दा कसको गोदामबाट बरामद भएको हो भन्ने उल्लेख नै नगरी तस्कर गुप्तालाई जोगाउने काम भएको स्रोतको दाबी छ । स्रोतका अनुसार उनलाई जोगाउन वीरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृतले नै सहजीकरण गरेका थिए । 

See More On

सुझावित समाचार