भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको सात महिनामा कुल २८.१५ प्रतिशत मात्र खर्च गरेको छ । आज वर्तमान सरकार गठन भएको दुई सय दिन पुगेको अवसरमा मन्त्रालयद्वारा गरिएका कार्यको जानकारी सार्वजनिक गर्दै चालू आव सकिन पाँच महिना मात्र रहँदा अझै ७० प्रतिशतभन्दा बढी खर्च गर्न बाँकी रहेको जनाइएको हो ।
चालू आवमा मन्त्रालयका लागि चालूतर्फ रु. सात अर्ब ४८ करोड ६३ लाख र पुँजीगततर्फ रु. एक खर्ब ४३ अर्ब पाँच करोड गरी रु. एक खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन रहेको थियो । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबिच पहिलो एक सय दिन (असोज ६ सम्म) सम्पन्न गर्ने १० र दोस्रो एक सय दिन (माघ १७ सम्म) मा सम्पन्न गर्ने १२ वटा मुख्य कार्यक्रम र तिनको लक्ष्यसहित सम्झौता गरिएको थियो ।
यातायात पूर्वाधारको विकास र यातायात प्रणालीको नीतिगत व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको यस मन्त्रालयले आफू र मातहतका सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र नेपाल पानीजहाज कार्यालयमार्फत सम्पादन भएका मुख्य कार्य, हासिल भएका उपलब्धि सार्वजनिक गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पहिलो एक सय दिनका लागि निर्धारित १० र दुई सय दिनका लागि निर्धारित १२ कामका क्षेत्रमा किटान गरिएको लक्ष्यहरूको प्रगति लक्ष्यउन्मुख रहेको दाबी गरे ।
‘यस अवधिमा मन्त्रालयले कतिपय ठुला आयोजना व्यवस्थापनमा देखिएका समस्या र स्रोतसाधनको सीमितताका बाबजुद उच्च प्रतिफल हासिल गर्न आवश्यक सबै प्रयत्न गरेको छ,’ उनले भने, ‘आगामी दिनमा आयोजना व्यवस्थापनका समस्या समाधान गरी जनअपेक्षा पूरा गर्न अझै प्रभावकारी ढंगले लाग्नेछौँ ।’
हालसम्मका मुख्य प्रगति
हालसम्म कुल कालोपत्रस्तरको नयाँ सडक दुई लेनको २४६ किलोमिटर र दुई लेनमाथिको ३०.५८ किलोमिटर सम्पन्न भएको मन्त्रालयको प्रगतिमा देखिएको छ । यसैगरी ललितपुरको ग्वार्कोमा फ्लाई ओभर निर्माण माघ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेकामा ८२ प्रतिशत कार्य सम्पन्न भएको, काम गर्ने क्रममा देखिएका केही प्राविधिक विषयलाई सम्बोधन गरी आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको मन्त्री दाहालले जानकारी दिए ।
उनका अनुसार नेपालको सडक यातायात क्षेत्र सुरुङ युगमा प्रवेश गरेको र सोही सिलसिलामा सिद्धबाबा मार्गको मुख्य सुरुङ खन्ने कार्यमध्ये चालू आवमा ८७६ मिटर सम्पन्न भएको छ । ‘उक्त सुरुङमार्गको सम्पूर्ण एक हजार १२६ मिटर खन्ने कार्य सम्पन्न भई प्रधानमन्त्रीबाट भर्चुअल रूपमा अन्तिम ब्रेक थ्रु भइसकेको छ । यसबिचमा काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङमार्गको पनि ब्रेक थ्रु भएको छ,’ उनले भने, ‘नागढुंगा सुरुङमार्ग निर्धारित समयमा सम्पन्न हुने अवस्थामा छ । सम्पन्न हुनासाथ सुरुङमार्गबाट यातायात सञ्चालन गर्ने गरी ‘मोडालिटी’ तयार भइरहेको छ ।’ नेपाली सेनाबाट निर्माणाधीन तराई–मधेश द्रुतमार्गको काम तीव्र ढंगले अगाडि बढेको छ । काठमाडौंतर्फको प्रस्थानविन्दु खोकना क्षेत्रको समस्या समाधान गर्न सरोकार भएकाहरूसँग छलफल भइरहेको मन्त्री दाहालले जानकारी दिए ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले सबै जिल्ला सदरमुकामलाई बाह्रै महिना राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी यातायातको पहुँच विस्तार गर्ने सरकारको योजनाअनुसार काम भएको उल्लेख गरे । उनले सदरमुकामसँग जोड्न बाँकी हुम्लाको सिमिकोट जोड्नका लागि खार्पुनाथस्थित चुवाखोलामा बेलिब्रिज जडान गर्न नेपाली सेनालाई जिम्मा दिई कार्य अगाडि बढाइएको जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय गौरवका पुष्पलाल (मध्यपहाडी) राजमार्ग, हुलाकी राजमार्ग र कालीगण्डकी करिडोरको विभिन्न खण्डमा ५६ किलाेमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा ७८.५ किलाेमिटर सम्पन्न भएको छ । माघ मसान्तसम्ममा ४१ वटा पुल निर्माण सम्पन्न भएका छन् । ‘हेम्जा–नयाँपुल सुरुङमार्ग र कास्कीको विस्तृत सम्भाव्यता अध्ययन कार्य सम्पन्न भएको छ । दुम्कीबास–बर्दघाट सुरुङमार्गको विस्तृत डिजाइन सम्पन्न भएको छ । तमोर कोरिडोर (चतरा–मूलघाट–सुभाङखोला) खण्डमा १४ किलाेमिटर कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ । रानी–विराटनगर–धरान खण्डको तरहरा–सेउती खण्डको ५.३ किलाेमिटर सडक चार लेनमा कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । भेडेटार–रवि–राँके खण्डमा केही सडक कालोपत्र भई निर्माण र विस्तार भइरहेको छ,’ सचिव शर्माले भने ।
सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकअन्तर्गत खुर्साने, पाल्पाबाट पटौटी, अर्घाखाँचीसम्म विभिन्न स्थानको कार्य सम्पन्न भएको छ । पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्ड लामो समयदेखि निर्माण अवरुद्ध भइरहेकामा विभिन्न तह र चरणमा भएको छलफलपश्चात् हाल निर्माणले तीव्रता लिएको छ । यसैगरी बुटवल–चन्द्रौटा सडकको ६९ किलाेमिटरमध्ये बुटवल गोरसिँगे खण्डको ५० किलाेमिटर सडक चौडा गर्न ठेक्का सम्पन्न भई निर्माण सुरु भएको मन्त्रालयले जनाएको छ । रानी–विराटनगर–किमाथांका (कोशी राजमार्ग) ट्रयाक खोल्ने कार्य भई यो सडक चीन, भारत र नेपालको त्रिदेशीय सडक सञ्जालका रूपमा जोडिएको छ ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा पूर्वी खण्डमा ४.७५ किलाेमिटर तथा पश्चिम खण्डमा ८.६८ किलाेमिटर सडक चार लेन कालोपत्र सम्पन्न भई निर्माण अन्तिम चरणमा पुगेको छ । सचिव शर्माले गत आवमा भएको कामको भुक्तानी दायित्व रकम निर्माण व्यवसायीलाई भुक्तानी गरिसकिएको र यस आवमा सिर्जित दायित्व भुक्तानी गर्न प्रक्रिया अगाडि बढाइएको बताए । यातायात व्यवस्थापनतर्फ जिपिएस जडान गर्ने सम्बन्धमा यातायात तथा सवारी क्षेत्रका सम्बन्धित ‘स्टेकहोल्डर’सँग छलफल र परामर्शबाट प्रतिबद्धतासमेत प्राप्त भई सार्वजनिक सवारीसाधनमा जिपिएस जडान निरन्तर रूपमा अगाडि बढिरहेको छ ।
माघ मसान्तसम्म एक लाख ६९ हजार ४३९ थान लाइसेन्स (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण गरिएको मन्त्रालयले जानकारी दिएको छ । माघ मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट ३७ हजार ९५४ थान उत्पादन र सात हजार ४७६ थान जडानका लागि यातायात कार्यालयमा वितरण गरिएको छ ।
जल यातायाततर्फ सुनकोशी र नारायणी नदीमा जलयान सञ्चालनका लागि अवरोध हटाउने तथा निर्माण गर्ने लक्ष्य रहेकामा कोशी नदीमा अवरोध हटाई जलयान सञ्चालन भइरहेको र नारायणगढमा रहेको नारायणी नदीको पुलबाट देवघाटसम्म जलमार्ग विस्तार कार्यका लागि बोलपत्र आह्वान भएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय यातायात नीति, २०८१, सार्वजनिक सडकसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१, सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१ र सडक सुरक्षासम्बन्धी विधेयक, २०८१ को मस्यौदा सुझाव तथा रायका लागि सातवटै प्रदेशमा पठाइएको छ ।
रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटस्थित सुनकोशी नदी पुल, अरनिको राजमार्गस्थित लिपिङ पुल, अरनिको राजमार्गस्थित खाँगदल पुल, उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदी पुल, धादिङ जिल्लास्थित आँखुखोलामा पुल, बेलिब्रिज निर्माण गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । बिपी राजमार्गलगायत बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको स्थायी रूपमा निर्माण तथा मर्मत र वैकल्पिक सडक निर्माणका लागि रु. २५ अर्बको बजेट तथा स्रोत सुनिश्चितता गर्न र यस आवका लागि रु. ६ अर्बको बजेट निकासा हुन अर्थ मन्त्रालय तथा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् तथा पुनर्निर्माण प्राधिकरणमा अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।