लुम्बिनी प्रदेशमै पहिलोपटक गुल्मी अस्पताल तम्घासमा विद्युतीय चिकित्सा अभिलेख (इएमआर) प्रणाली सुरु भएको छ । अभिलेख प्रणालीको मेसिन विश्व स्वास्थ्य संगठन नेपालका डाक्टर एलिसन गोकोटना र लुम्बिनी प्रदेश सभाका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले गुल्मी अस्पताल तम्घासलाई प्रदान गरेका छन् । डाक्टर एलिसन गोकोटनाले प्रणालीको अधिकतम लाभ लिन सबैलाई आग्रह गरे ।
विश्व स्वास्थ्य संगठनले लुम्बिनी प्रदेशमै पहिलोपटक र देशभरमा नवौँ अस्पतालको रूपमा गुल्मी अस्पताल तम्घासमा विद्युतीय चिकित्सा अभिलेख (इएमआर) प्रणाली सुरु भएको हो । (इएमआर) प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै सेवा डिजिटल माध्यममा देखिने भएको छ। टिकटिङ, बिलिङ, डाक्टरको उपलब्धता, औषधिलगायत विवरण इएमआर प्रणालीमार्फत जानकारी लिन सकिने अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिए ।
इएमआर प्रणालीमार्फत बिरामीलाई विगतदेखि वर्तमानसम्मका विवरण सजिलै उपलब्ध हुनेछन् । (इएमआर) प्रणालीको सुरु गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले प्रदेश प्रणालीले अस्पताललाई सेवाग्राहीप्रति जवाफदेही हुने गरी र जनताले सरकारको महसुस गर्ने गरी काम गरिरहेको बताए। यो प्रणाली सुरु भएपछि बिरामीलाई कागजी प्रक्रियाको झन्झट अन्त्य हुनेछ।
गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा कार्यालय प्रमुख वैभव बस्यालले ५० शय्या रहेको गुल्मी अस्पतालमा अर्घाखाँची, प्युठान, बागलुङलगायतका छिमेकी जिल्लाका बिरामीहरूले समेत सेवा लिने बताए। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसाल, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, स्वास्थ्य मन्त्रालयका सचिव वासुदेव उपाध्याय र अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेयलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमका अवसरमा न्यूनतम सेवा मापदण्ड कार्यक्रम कार्यान्वयनअन्तर्गत अनुगमन, मूल्यांकन तथा समीक्षा र नसर्ने रोगहरूको पहिचानका लागि एकमहिने अभियानसमेत सुरु गरिएको छ ।