महोत्तरीमा ३६० एचआइभी संक्रमितले नियमित औषधि सेवन गर्दै

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण

महोत्तरी सदरमुकाम जलेश्वरस्थित एआरटी सेन्टरबाट हाल ३६० एचआइभी संक्रमितले नियमित औषधि सेवन गरिरहेको एआरटी सेन्टर जलेश्वरले जनाएको छ। विभिन्न कारणले एचआइभी संक्रमित भएकाहरू एआरटी सेन्टर जलेश्वरका नियमित औषधि सेवनकर्ता हुन् । औषधि सेवन गर्नेमध्ये १२४ महिला, २०६ पुरुष र नौ अन्य छन्। १५ वर्षमुनिका १२ बालिका र नौ बालक छन् । सोहीमध्ये १२ जना यौनकर्मी, ६ जना सुईबाट लागुऔषध प्रयोगकर्ता, २६ जना पुरुष समलिंगी तथा अन्य, ९२ आप्रवासी वा रोजगारीका लागि विदेश गएर फर्केकाहरू तथा २२४ जना यिनका आफन्त, घरपरिवारलगायतका अन्य रहेको सेन्टरले जनाएको छ । 

०७२ मा सञ्चालन भएदेखि २६६ जना एआरटी सेन्टरमा जोडिएका, सोमध्ये ५९ जना संक्रमित अर्को एआटी सेन्टर गएका, ३९ कोभिडपछि सम्पर्कमा नआएका र ५३ को मृत्यु भएको सेन्टरका प्रमुख तथा परामर्शकर्ता राजीव पाठकले बताए। उनले औषधिको नियमित सेवनले एचआइभीको भाइरल लोड घट्ने भएकाले औषधि सेवन अनिवार्य भएको तथापि औषधि नियमित सेवन नगर्ने, बेवास्ता गर्ने वा छाड्ने वा अन्तिम अवस्थामा सेन्टर पुग्नेलाई समस्या हुने र मृत्युसमेत हुन सक्ने बताए । उनले नियमित औषधि सेवनकर्ताहरू पूर्ण स्वास्थ्यझैँ अझै बाँचिरहेकाले संक्रमितलाई औषधिको सेवनमा लापरबाही नगर्न आग्रह गर्छन् । 

असुरक्षित यौन सम्बन्ध, लागुऔषध दुर्व्यसनीले एउटै सुई धेरैजनामा प्रयोग गर्ने, एउटाले प्रयोग गरेको ब्लेडले अर्कोको दाह्री काट्दा र अन्य विभिन्न कारणले एचआइभी लाग्ने भएकोमा यस्तप्रति सचेत हुनु आवश्यक रहेको परामर्शकर्ता पाठक बताउँछन् । उनले एआरटी सेन्टरमा सम्पर्कमा आएका संक्रमितहरूमध्ये भारत तथा अन्य देशबाट काम गरेर फर्केका व्यक्ति र पछि उनकी श्रीमती र सोबाट जन्मेका सन्तानका साथै, सेक्स वर्कर, सेक्स वर्करका क्लाइन्ट,यौनिक तथा लैंगिक अल्पसंख्यकलगायतका बढी संक्रमित रहेको बताए । यसका अलावा एमएसएम (मेल सेक्स विथ मेल) समेत एचआइभी संक्रमित रहेको बताए । 
हाल औषधि सेवन गरिरहेकामध्ये चालू आर्थिकमा सेन्टरमा थपिएका १८ जना छन् । सोमध्ये ११ पुरुष, पाँच महिला र दुई अन्य छन् । 

सुझावित समाचार