कांग्रेसले अब भ्रातृसंस्थाको म्याद नथप्ने

बाँकी १० भ्रातृसंस्थाको महाधिवेशन चैतभित्रै गर्न निर्देशन, तर तयारी सुस्त

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण

लामो समयसम्म महाधिवेशन गर्न नसकेका कांग्रेसका दश भ्रातृसंस्थाको चैत मसान्तपछि म्याद थप नहुने भएको छ । बिहीबार सानेपामा कांग्रेसका पदाधिकारी र भ्रातृसंस्थाका निर्देशक समिति संयोजकबिच तयारीका विषयमा कांग्रेसले छलफल गरेको थियो । पटक–पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेपछि चैत मसान्तभित्रै जसरी पनि गर्न निर्देशन दिइएको छ । बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायत उपस्थित थिए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चैत मसान्तभित्रै महाधिवेशन गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको बताए । छलफलसँगै नेतृत्व तहबाट म्याद थप नगर्ने र तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न केन्द्रित हुने निर्णय गरेको उनको भनाइ छ । ‘भातृसंस्थाका महाधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशक समिति गठन गरिएको थियो । त्यसैको प्रगतिबारे नेतृत्व र निर्देशक समितिबिच छलफल भयो । तोकिएकै अवधिमा सम्पन्न गर्न पार्टीबाट हुन सक्ने सहयोगका विषयमा छलफल केन्द्रित भयो । केही साथीहरूले चुनौती दर्शाउनुभयो, तर धेरै साथीहरूले तोकिएकै समयमा अधिवेशन गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने ।

गत १९ असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले कार्यादेशसमेत तय गरेर नेविसंघ, तरुण दल, महिला संघ, किसान महासंंघ, भूतपूर्व सैनिक संघ, प्रजातन्त्र सेनानी संघ, दलित संघ, लोकतान्त्रिक अपांग संघ, थारू संघ र लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन सुनिश्चित गर्न निर्देशन समिति बनाउने निर्णय गरेको थियो । केन्द्रीय कार्यसम्पादन समितिले कार्यादेशसमेत तय गरेर निर्देशन समिति बनाउने निर्णय लिएको थियो । ‘महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृसंघहरूको महाधिवेशन सम्पन्न गर्न÷गराउन फरक भ्रातृसंघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशन समिति गठन गर्ने,’ निर्णयमा भनिएको छ । 

चैत मसान्तभित्र महाधिवेशन गराउन लागिपरेको कांग्रेसले पार्टी केन्द्रबाटै सहजीकरण गरिरहेको छ । जसका लागि महाधिवेशन हुन बाँकी रहेका यसका लागि पदाधिकारी र केन्द्रीय सदस्यलाई निर्देशक समितिमार्फत तयारी गरिरहेको छ । तरुण दल निर्देशक समिति संयोजक तथा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले निर्देशक समितिले निरन्तर छलफल र सहजीकरण गरिरहेको बताइन् । 

‘चैत मसान्तभित्र सक्ने गरी भ्रातृसंस्थाको महाधिवेशनको अवधि तोकिएको छ । पार्टीले जिम्मेवारी दिएका निर्देशक समितिले सहजीकरण गरिरहेको छ । भ्रातृसंस्थाहरू महाधिवेशनको तयारीमा छन् । म निर्देशक समिति संयोजक रहेको तरुण दलसहितका भ्रातृसंस्थाहरू निर्धारित समयभित्रै महाधिवेशन सम्पन्न हुने बाटोमा छन्,’ उनले भनिन्, ‘नेतृत्वले पनि भ्रातृसंस्थाको महाधिवेशनलाई विशेष रूपमा चासो लिएको छ । बिहीबार पदाधिकारी र निर्देशक समितिबिच पछिल्लो प्रगति र समस्याबारे छलफल भयो । नेतृत्वले तयारीको अवस्थाबारे ब्रिफिङ र समयभित्रै सम्पन्न गर्न निर्देशनसमेत दिएको छ ।’

तर, कांग्रेसका भ्रातृसंस्थाहरूले हालसम्म सदस्यता वितरण र नवीकरणको टुंगो लगाएका छैनन् । यसले समयमै महाधिवेशन हुनेमा शंका गराएको छ । तर, भ्रातृसंस्थाका नेतृत्वहरूले भने फास्ट ट्रयाक शैलीबाट निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने दाबी गर्छन् । तरुण दल अध्यक्ष विद्वान गुरुङले फास्ट ट्रयाकबाट निर्धारित समयमै सम्पन्न गर्ने हुने दाबी गरे । महाधिवेशनका विषयमा द्विविधा राख्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘फास्ट ट्रयाकबाट तोकिएको मितिभित्रै तरुण दलको महाधिवेशन हुन्छ । समयमै महाधिवेशन सम्पन्न गर्छ भन्नेमा पार्टी पनि विश्वस्त छ । सदस्यता वितरणलगायत काम भइरहेका छन् । चैतभित्र महाधिवेशन सम्पन्न गर्ने गरी छिट्टै कार्यतालिका सार्वजनिक गर्नेछौँ,’ गुरुङले भने ।

कांग्रेस महामन्त्री गगन थापाले भ्रातृसंस्थाको महाधिवेशन पार्टी महाधिवशेनसँग समेत जोडिने भएकाले छिट्टै अधिवेशन सम्पन्न गरिने बताएका छन् । बुधबार बुटवल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रातृसंस्थाको अधिवेशन सकेर ०८४ को निर्वाचनअघि पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेको बताए । उनले यस विषयमा सभापति शेरबहादुर देउवासँग निरन्तर छलफल भइरहेको बताए । ‘सबै भ्रातृसंस्थाका महाधिवेशन छिट्टै सकाएर स्थानीय तहबाट प्रतिनिधि छान्ने काम सकाउनुपर्छ । त्यसैले निर्धारित समयमा महाधिवेशन गर्न दबाब सिर्जना हुनेछ,’ उनले भने, ‘अहिले सभापतिसँग दिनहुँजसो कुरा भइरहेको छ, सबै योजनाअनुसार काम भएको छ, काम गर्ने केमेस्ट्री मिलेको छ । भ्रातृ संगठन पनि गुटले थिलोथिलो भएका छन् । अब गुटबन्दी गरेर होइन, संगठन बलियो बनाएर अघि बढ्नुपर्छ ।’ 

कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महर विधानअनुसार लामो समय भ्रातृसंस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरण र पार्टीको आन्तरिक जीवनमा असर पुगेको बताउँछन् । महाधिवेशन प्रक्रिया रोकिँदा कांग्रेसको प्रजातान्त्रिक चरित्रमाथिसमेत प्रश्न उठ्ने गरेको उनको जिकिर छ । यसबारे नेतृत्व गम्भीर बन्नुपर्नेमा उनले बताए । महाधिवेशनका लागि बनेका निर्देशक समिति जिम्मेवारी लिन प्रतिबद्ध देखिए पनि नेतृत्व प्रतिबद्ध नदेखिएको उनको आरोप छ । 

‘लोकतन्त्रको पहिलो विशेषता आवधिक निर्वाचन हो । यो प्रक्रियाबाट पार्टी र भ्रातृसंस्थालाई बाहिर राख्दा लोकतन्त्रलाई कमजोर बनाउँछ । लोकतन्त्र कमजोर हुँदा पार्टीलाई क्षति पुग्छ,’ उनले भने, ‘समग्र पार्टी र मातहतका निकायले महाधिवेशन समयमै सम्पन्न गर्नका लागि सहयोग गर्नु आवश्यक छ । पार्टीमा बढीभन्दा बढी युवालाई जोड्ने महाधिवेशनका माध्यमले नै हो । समयमै महाधिवेशन सम्पन्न नगर्ने चरित्रले पार्टी र लोकतन्त्र बलियो हुन सक्दैन । चैतभित्रै महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णय कार्यान्वयनमा कुनै पनि बहानामा ढिलाइ गर्न हुँदैन ।’

भ्रातृसंस्थाहरूको महाधिवेशन सुनिश्चित गर्न कांग्रेसले निर्देशन समिति बनाएको थियो । कांग्रेसले गत १६ असोजमा तीन र २६ मंसिरमा सात गरी १० भ्रातृसंस्थाका निर्देशन समिति गठन गरेको थियो । तर, निर्णयको पाँच महिनापछि मात्रै निर्देशन समितिले पूर्णता पाएको थियो । पछिल्लोपटक पटक–पटक गरी १५ असारसम्म म्याद थप गरिएकोमा यस अवधिमा पनि महाधिवेशन नहुने भएपछि शीर्ष तहको छलफलले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न फरक–फरक निर्देशन समिति बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । महाधिवेशनसँगै भ्रातृसंस्थाहरू संघीय संरचनाअनुरूप व्यवस्थित गर्ने कांग्रेसको तयारी छ । दोस्रो जनआन्दोलनपछि मुलुक संघीय संरचनामा गएको छ । ०७८ मा भएको कांग्रेसको १४औँ महाधिवेशनसँगै कांग्रेसले संघीय संंरचनाअनुसार पार्टीका संरचना बनायो, तर भ्रातृसंस्थाका संघीय संरचना अझै बन्न सकेका छैनन् । अधिकांशको महाधिवेशन नभएको नौ वर्षभन्दा बढी भइसकेको छ । 

सुझावित समाचार