भूमि समस्या समाधान आयोग कञ्चनपुरले पूर्णता पाएको छ । यसअघि अध्यक्ष मात्रै नियुक्त गरिएकोमा आयोगका विज्ञसहितका सदस्य नियुक्त भएसँगै जिल्लाले पूर्णता पाएको हो ।
भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसअघि जिल्ला अध्यक्ष नेत्रप्रकाश पन्तलाई नियुक्त गरेको थियो । पछि विज्ञ सदस्यमा दिलबहादुर सिँजाली, सदस्यमा दिलबहादुर देउवा र महिला सदस्यमा कल्पना चौधरीलाई नियुक्त गरेको छ । अध्यक्ष पन्त र सदस्य चौधरी एमालेबाट, विज्ञसदस्य सिँजाली र सदस्य देउवा कांग्रेसबाट नियुक्त भएका हुन् । दोधाराचाँदनी नगरपालिका–६ का पूर्ववडाध्यक्षसमेत रहेका सिँजालीलाई यसपटक भूमिविज्ञ सदस्यको जिम्मेवारी पाइएको छ । यसअघि पनि सदस्य रहेका देउवा पुनः दोहोरिएका छन् ।
विज्ञसदस्य सिँजाली, सदस्यद्वय देउवा र चौधरीले बिहीबार पदभार सम्हालेका छन् । पदभार सम्हाल्दै सदस्यत्रयले दिएको जिम्मेवारी निर्भीकताका साथ पूरा गर्ने प्रण गरेका छन् । विज्ञसदस्य दिलबहादुर सिँजालीले आफूमा रहेका विज्ञता फिल्डमा कार्यान्वयन गर्दै जनतालाई जमिनको मालिक बनाउने संकल्प गरेका छन् ।
दुईपटक सदस्यमै जिम्मेवारी पाएका दिलबहादुर देउवाले पहिलेको अनुभवलाई दोस्रो कार्यकालमा समेत कार्यान्वयन गरेर घरघरमै पुगेर लालपुर्जा दिने संकल्प गरेका छन् । महिला सदस्यसमेत रहेकी कल्पना चौधरीले भूमि अधिकारबाट वञ्चित जनतालाई अधिकार दिलाउने बताइन् ।
भूमि आयोग कञ्चनपुरका अध्यक्ष नेत्रप्रकाश पन्तले आयोगले पूर्णता पाएसँगै कामकाज अघि बढाएर यही आयोगलाई अन्तिम बनाएर जनताको काम फत्ते गर्ने बताए । अध्यक्ष पन्तले विगतका आयोगले गरेका कामको स्वामित्व ग्रहण गर्दै तीव्रतर रूपमा भूमिसम्बन्धी समस्या समाधानतर्फ अघि बढ्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले जिल्लामा भूमि आयोगले पूर्णता पाएसँगै युद्धस्तरमा जनताको समस्या समाधानतर्फ केन्द्रित हुन आह्वान गरेका छन् । यसअघिका आयोगले लालपुर्जा वितरणदेखि फाराम संकलन गरेका थिए । अव्यवस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुमवासी गरेर झन्डै ६० हजार हाराहारीमा फाराम भरेका थिए ।