‘गाजा युद्धविराम संकट समाधानमा प्रगति’

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण
‘गाजा युद्धविराम संकट समाधानमा प्रगति’

तस्बिर : बिबिसी/इपिए

यो सप्ताहान्तमा बन्धक–कैदी आदान–प्रदान योजनाअनुसार अगाडि बढ्ने सुनिश्चित गर्न इजरायल–हमास युद्धविराम जोगाउने प्रयासमा प्रगति भएको वार्तासँग नजिक रहेका प्यालेस्टिनी स्रोतहरूले बिहीबार जानकारी दिएका छन्।

‘प्रगति भएको छ,’ एक स्रोतले एएफपीलाई भन्यो। मध्यस्थकर्ताहरूले इजरायलबाट ‘आजै बिहानदेखि मानवीय प्रोटोकल लागू गर्ने वाचा’ प्राप्त गरेको स्रोतको दाबी छ।

‘हमासले इजिप्टका अधिकारीहरूलाई शनिबार इजरायलले आफ्नो प्रतिबद्धता पूरा गर्नेबित्तिकै समयमै छैटौँ कैदी आदान–प्रदान गर्न आफ्नो प्रतिबद्धता पुष्टि गरेको छ,’ अर्को स्रोतले भन्यो।

मध्यस्थकर्ताहरूले इजरायलको अन्तिम स्वीकृति पुष्टि गरेपछि ‘पूर्वनिर्मित एकाइहरू, पालहरू, इन्धन, भारी उपकरण, औषधि, अस्पताल मर्मतका सामग्रीहरू र मानवीय प्रोटोकलसँग सम्बन्धित सबै कुरा’ क्षेत्रभित्र प्रवेश गर्न सक्ने पहिलो स्रोतले बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले शनिबारसम्म गाजामा राखिएका सबै बन्धकलाई रिहा नगरे ‘नरक’ खुल्ने चेतावनी दिएपछि नाजुक युद्धविराम हालैका दिनहरूमा तनावग्रस्त बनेको छ।

ती टिप्पणीहरूपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार मध्याह्नसम्म बन्धकहरू फिर्ता नगरे आफ्नो सेनाले गाजामा ‘तीव्र लडाइँ’ पुनः सुरु गर्ने बताए। उनले सबै बन्दीहरूको कुरा गरेको हो वा होइन स्पष्ट पारेनन्।

रक्षामन्त्री इजरायल काट्जले बुधबार युद्ध पुनः सुरु भएमा यसको तीव्रतामा फरक हुने र हमासको पराजयविना समाप्त नहुने चेतावनी दिएका छन्।

See More On

सुझावित समाचार