अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबिच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्तिवार्ताका लागि साउदी अरेबियामा भेट्ने अपेक्षा गरेको खुलासा गरेका छन् ।
ह्वाइटहाउसमा ट्रम्पको फिर्तीपछिको पहिलो पुष्टि गरिएको सम्पर्कमा अमेरिकी राष्ट्रपतिले युक्रेनमा सन् २०२२ को रक्तपातपूर्ण आक्रमणको आदेश दिने रुसी समकक्षीसँग ‘लामो र अत्यन्त फलदायी’ कुराकानी गरेको बताए ।
तर, ट्रम्पले किएभको नाटोमा सामेल हुने चाहना ‘व्यावहारिक’ नभएको बताएपछि यो कदमले युक्रेनलाई आफ्नै भविष्यको वार्तामा बाहिर राखिने चिन्ता जगाएको छ। किएभलाई नाटोमा संलग्न गराउन नहुने मस्कोको प्रमुख माग हो ।
लगभग तीन वर्षको युद्धको छिटो अन्त्यका लागि दबाब दिइरहेका ट्रम्पले दुई आणविक–सशस्त्र महाशक्तिबिचको प्रत्यक्ष वार्ताबाट युक्रेनलाई बाहिर राखिएको कुरा अस्वीकार गरे ।
‘हामी अपेक्षा गर्छौँ कि उहाँ यहाँ आउनुहुनेछ र म त्यहाँ जानेछु र हामी सम्भवतः पहिलोपटक साउदी अरेबियामा भेट्नेछौँ,’ ट्रम्पले पुटिनसँग भेट्ने योजनाबारे ओभल अफिसमा पत्रकारहरूलाई भने ।
ट्रम्पले यो ‘धेरै टाढा नभएको भविष्यमा’ हुने अपेक्षा गरेको र साउदी युवराज मोहम्मद बिन सलमान पनि संलग्न हुने बताए । साउदी युवराजले यस हप्ता रुस–अमेरिका कैदी आदान–प्रदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।क्रेमलिनले फोनवार्ता डेढ घण्टा जति चलेको बताएको छ । दुई नेताले ‘एकसाथ काम गर्ने समय आएको’ सहमति गरेको र पुटिनले ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिएको बताइएको छ ।
जनवरी २० मा पदभार ग्रहण गर्नुअघि ट्रम्पले युक्रेन युद्ध ‘२४ घण्टाभित्र’ अन्त्य गर्ने वाचा गरेका थिए । रासस/एएफपी