आइसिसीले लगायो बंगलादेशी क्रिकेटरलाई पाँच वर्ष प्रतिबन्ध

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण
  • फिक्सिङ तथा घुस प्रकरणमा दोषी ठहरिएपछि बंगलादेशबाट दुई एकदिवसीय र १३ टी–२० आई खेलेकी अख्तरलाई आइसिसीको कारबाही

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बंगलादेशी अफ स्पिनर सोहेली अख्तरलाई पाँच वर्ष प्रतिबन्ध लगाएको छ । आइसिसीले पहिलोपटक महिला क्रिकेटरमाथि प्रतिबन्ध लगाएको हो । बंगलादेशी महिला राष्ट्रिय टोलीबाट दुई एकदिवसीय र १३ टी–२० आई खेलेकी अख्तरमाथि फिक्सिङको प्रयास तथा  घुस र आइसिसीको एन्टी करप्सन कोड (एसियू)लाई आवश्यक पूर्ण विवरण नदिएको आरोपमा प्रतिबन्ध लगाइएको आइसिसीले जनाएको छ । 

यसैगरी, अख्तरले आइसिसीको अनुसन्धानमा समेत बाधा पुर्याएको आरोपमा दोषी ठहराइएको छ । आइसिसीको नियम उल्लंघन गरेको स्वीकार गरेपछि उनलाई सबैखाले क्रिकेटमा पाँच वर्ष प्रतिबन्ध लगाइएको हो । सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको आइसिसी टी–२० महिला विश्वकप प्रतियोगितामा अख्तरले बंगलादेशी एक क्रिकेटरलाई ‘फिक्सिङ’को प्रस्ताव राखेकी थिइन् । सो विश्वकपमा उनी टोलीमा नभए पनि खेलाडीलाई फिक्सिङका लागि उक्साएकी थिइन् । अख्तरले बंगलादेश र अस्ट्रेलियाबिचको खेलमा हिट विकेट आउट गर्न एक खेलाडीलाई १६ हजार चार सय अमेरिकी डलर प्रस्ताव राखेकी थिइन् । तत्कालै ती बंगलादेशी क्रिकेटरले आफूमाथि ‘फिक्सिङ’ गराउन प्रस्ताव आएको आइसिसीको एन्टी करप्सन युनिटलाई जानकारी गराइन् । 

डेढ वर्षसम्म चलेको अनुसन्धानले अख्तरलाई म्याच फिक्सिङमा प्रमुख दोषी ठहर गरेको हो । अनुसन्धानका क्रममा ‘भ्वाइस रेर्कड’ परीक्षण गरिएको थियो । जसमा दुई बंगलादेशी खेलाडीबिचको वार्ता स्पष्ट सुनिएको थियो । 

‘सुरुमा आरोपित खेलाडीले घटनाबारे जानकारी नभएको बताएकी थिइन्, अनुसन्धानका क्रममा सबै प्रस्ट भयो,’ आइसिसीले भनेको छ, ‘बंगलादेशलाई खेलमा हराउन मोटो रकम प्रस्ताव भएको खुलासा भएको छ ।’ आइसिसीले प्रमाणकै आधारमा अख्तरलाई कारबाही गरेको जनाएको छ । ‘हामीसँग सबै प्रमाण सुरक्षित छ, बंगलादेशी क्रिकेटरले दोस्रो पक्षसँग मिलेर ‘फिक्सिङ’ प्रयास गरेको देखियो,’ आइसिसीले भन्यो, ‘दोषी ठहरिएपछि उनलाई सबै किसिमका फम्र्याटमा पाँच वर्ष प्रतिबन्ध सुनाइएको हो ।’

भारतविरुद्ध सन् २०१३ मा डेब्यु
घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच वर्ष प्रतिबन्धित अख्तरले सन् २०१३ मा भारतविरुद्ध एकदिवसीयमा डेब्यु गरेकी थिइन् । नौ वर्षको अन्तर्राष्ट्रिय करिअरमा उनले दुईवटा एकदिवसीयमा प्रतिस्पर्धा गरिन् । एकदिवसीयमा एक इनिङ्स ब्याटिङ गरेकी उनले चार बल सामना गरेकी थिइन् । बंगलादेशको राष्ट्रिय महिला टोलीमा उनलाई पार्टटाइम स्पिनरका रूपमा राखिएको थियो । 

उनले टी–२० आईमा १३ खेलमध्ये ११ इनिङ्समा बलिङ गर्दै आठ विकेट लिइन् । एकदिवसीय खेलमा भने दुवै खेलमा उनले तीन विकेट हात पारेकी थिइन् । भारतविरुद्ध नै उनले टी–२० आईमा डेब्यु गरेकी थिइन् । उनको अन्तिम टी–२० आई सन् २०२२ मा श्रीलंकाविरुद्ध रह्यो । 

अन्तर्राष्ट्रिय करिअरमा अख्तरले पाकिस्तान, थाइल्यान्ड, आयरल्यान्ड, अमेरिका र स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन् । यसक्रममा टी–२० आईमा पाकिस्तान र श्रीलंकाविरुद्ध समान तीन रन बनाइन् । 

सुझावित समाचार