३६ स्थानमा अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ जडान

बुधबार, ३० माघ, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका ३३ वटा सामुदायिक विद्यालय र तीनवटा अस्पताल क्षेत्रमा ३६ वटा अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ (पेलिकन) प्रणाली जडान गरिएको छ । यस प्रविधिअनुसार पदयात्रीले जेब्राक्रसबाट सडक वारपार गर्ने क्रममा आफैँ हरियो बत्ती बाल्न सक्छन् । यसअघि बागदरबार र बबरमहल क्षेत्रमा पनि यो प्रविधि परीक्षणस्वरूप राखिएको थियो । यसबाट सकारात्मक नतिजा प्राप्त भएपछि ३६ स्थानमा राख्ने योजना बनेको हो ।

यसबाट पैदल यात्रा सुरक्षामा नयाँ आयाम थपिएको छ । पैदलयात्रीले स्विच थिचेपछि कम्तीमा ६० सेकेन्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एकपटक थिचेपछि सडकको चौडाइ र पैदल यात्रीको चापअनुसार ८ देखि २० सेकेन्ड हरियो बत्ती बल्छ । जुन विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गाइडलाइनबाट गाइडेड छ। एकपटक पैदलयात्रीले हरियो बत्ती बलेपछि पुनः १ देखि २ मिनेटमा मात्र अर्कोपटक बाल्न सक्छन् । अर्थात्, १ देखि २ मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि हरियो बत्ती बाल्न सकिन्छ ।

पेलिकनको २ वटा उद्देश्य छन् । एउटा, बालिबालिकालाई र अस्पतालमा आवतजावत गर्ने बिरामीलाई सडक सुरक्षा प्रदान गर्न सकियोस् । अर्को, भविष्यका सडक प्रयोगकर्ता (बालबालिका) लाई सडक सुरक्षाका विषयमा व्यावहारिक ज्ञान दिन सकियोस् ।

महानगरको प्राविधिक समूहले ट्राफिक प्रहरीबाट प्राप्त ५ बर्से तथ्यांकमा यी ३६  क्षेत्रमा पैदल यात्रीको ठुलो चाप छ र दुर्घटना जोखिम देखिएको थियो । यस कारण पटकपटक पैदल यात्रीहरू दुर्घटनामा पर्ने गरेका थिए । प्रणाली जडान भएपछि पैदल यात्रीहरूले सवारीसाधन रोकिएको यकिन भएपछि मात्र सडक पार गर्ने अवसर पाउन भन्ने पनि हो ।

सुझावित समाचार