२४औँ आहारारा पोखरा गोल्डकप : पुलिस ११औँपटक फाइनलमा

बुधबार, ३० माघ, २०८१
डिजिटल संस्करण
  • ६ पटकको च्याम्पियन र चारपटक उपविजेता बनेको नेपाल पुलिसले अन्तिम दुईमा स्थान रक्षा गर्ने क्रममा चर्च ब्वाइजमाथि १–० को जित निकाल्यो

नेपाल पुलिस क्लब ११औँपटक राराआहा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पुलिसले ०७६ पछि अन्तिम दुईको स्थान पक्का गर्ने क्रममा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले हरायो । बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा पुलिसका लागि एक मात्र निर्णायक गोल सञ्जीव लामाले गरेका थिए । उनले खेलको ५८औँ मिनेटमा गोल गरेका हुन् । 

यसअघिका दुई संस्करणमा पुलिस चर्च ब्वाइजसँग पराजित भएको थियो । २२औँ संस्करणको प्रिक्वार्टरफाइनलमा २–१ र गत वर्ष क्वार्टरफाइनलमा चर्च ब्वाइजले पुलिसलाई हराएको थियो । पुलिस राराआहा गोल्डकपको सर्वाधिक विजेता हो । पुलिसले अहिलेसम्म ६ पटक ट्रफी उचालेको छ । पुलिस चारपटकको उपविजेता पनि हो । राराआहा गोल्डकपमा पुलिसको यो ५०औँ जित हो । अब पुलिसले थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबिचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।  

उज्वेकिस्तानको ब्ल्याक बुल्सले क्वार्टरफाइनलमा सिक्किमको थन्डर बोल्टलाई हराएको थियो । प्रतियोतिगामा पुलिसले उद्घाटनमा आयोजक सहारा क्लबलाई १–० ले हराएको थियो । क्वार्टरफाइनलमा पुलिसले बेलायतको बिग्रेड ब्वाइज क्लबलाई २–० ले पाखा लगाएको थियो । चर्च ब्वाइजले प्रिक्वार्टरफाइनलमा एनआरटीलाई सडनडेथमा स्तब्ध पारेको थियो । साबिक विजेता त्रिभुवन आर्मी क्लबमाथि १–० को जित निकाली चर्च ब्वाइज सेमिफाइनलमा पुगेको थियो । 

लामाले गरे विजयी गोल 
‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज र पुलिसबिच पहिलो हाफ गोलरहित बराबरी भएको थियो । मोफसलमा आयोजित गोल्डकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको चर्च ब्वाइजले पुलिसविरुद्ध राम्रो खेल प्रदर्शन गरे पनि फिनिसिङ बलियो बनाउन सकेन । खेलको ५८औँ मिनेटमा गोलरक्षक राज भुसालले बल क्लियर गर्न नसक्दा पुलिसले बाजी मारेको हो । मैदानको मध्यभागबाट आएको बललाई चर्च ब्वाइजका गोलरक्षक भुसालले जज गर्न सकेनन् । लामाले सहजै गोल गरी पुलिसलाई १–० को अग्रता दिलाए ।

उनकै गोल नै निर्णायक बन्यो । राराआहा गोल्डकपमा पुलिस र चर्च ब्वाइजबिचको खेल समग्रमा २५०औँ हो । पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । चर्च ब्वाइज र पुलिसले आक्रामक शैलीमा प्रतिस्पर्धा गरेका थिए । दोस्रो हाफमा पुलिसको तुलनामा चर्च ब्वाइजले पोस्ट चार्ज गरेको थियो । 

विपक्षीको स्तरअनुसारै रणनीति बनाएर खेल्यौँ : चेतन घिमिरे, प्रशिक्षक, पुलिस
प्रतिस्पर्धामा विपक्षीमध्ये चर्च ब्वाइज तुलनात्मक रूपमा बलियो देखियो । विपक्षीको स्तरअनुसारै फरक रणनीति बनाएर खेल्यौँ । खेलाडीले समेत मैदानमा रणनीतिअनुसारै खेले । जितका लागि उनीहरूले धेरै मिहिनेत गरेका थिए । प्राविधिक रूपमा पछाडि रह्यौँ । चर्च ब्वाइजको खेल राम्रो थियो । सबैभन्दा मुख्य पक्ष दोस्रो हाफको सुरुमै गोल गर्न सक्यौँ । त्यही एक गोलमै फाइनलमा पुग्यौँ ।

खेलमा नसोचेको गोल भयो : चेतनारायण श्रेष्ठ, प्रशिक्षक, चर्च ब्वाइज
प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुवै टोलीले राम्रो खेले । पुलिसविरुद्धको प्रतिस्पर्धामा नसोचेको गोल व्यहोर्यौँ । यसलाई दुर्भाग्य भन्नुपर्छ । पहिलो हाफमा त्यति राम्रो भएन । तर, मध्यान्तरपछि खेलमा सुधार आयो । दोस्रो हाफमा पुलिसमाथि दबाब राखे पनि स्कोर भएन । खेलाडीले गोलका लागि धेरै प्रयास गरेका थिए । समग्रमा पुलिसले अघिल्लो खेलको तुलनामा उत्कृष्ट खेल्यो ।
 

सुझावित समाचार