नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीलाई अस्पतालको क्याबिनमा पुर्‍याएकोे घटनाबारे प्रहरीले थाल्यो छानबिन

बुधबार, ३० माघ, २०८१
डिजिटल संस्करण

पुर्पक्षका लागि कारागारमा रहेका नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दुई आरोपीलाई अस्पतालको सुविधासम्पन्न क्याबिनमा राखेर विभिन्न व्यक्तिसँग भेटघाट गराएको घटनामा काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानबिन थालेको छ । छानबिन समिति नै गठन गरी त्यसमा प्रहरीको भूमिकाबारे छानबिन थालिएको हो । 

मुख्य आरोपी केशव दुलाल र सानु भण्डारीलाई पाँच दिनदेखि सिनामंगलस्थित नेपाल मेडिकल कलेजको १७ नम्बर क्याबिनमा राखिएको विषय नयाँ पत्रिकाले गत बुधबार बाहिर ल्याएपछि छानबिन थालिएको हो । प्रारम्भिक छानबिनमा प्रहरीको बदनियत देखिएको छ । 

उपत्यका प्रहरी कार्यालयका प्रमुख टेकबहादुर तामाङले समिति गठन गरेर घटनाको विषयमा छानबिन भइरहेको बताए । बिरामी भएको कागज बनाएर उनीहरूलाई क्याबिनमा राखिएको थियो । क्याबिनमा विभिन्न व्यक्ति लगेर छलफलसमेत गराइएको छ । प्रहरी स्रोतका अनुसार मुद्दाका जाहेरकर्ता रामकुमार रेग्मी र प्रेमराज पन्थी नियमितजसो दुलाल र भण्डारीको क्याबिनमा गएर बस्ने गर्दथे । त्यस्तै, कानुन व्यवसायी र विभिन्न व्यक्ति पुगेर क्याबिनमै छलफलसमेत गरिएको थियो ।

मुद्दामा केही उच्चपदस्थलाई जोगाउने रणनीतिअनुसार कारागार प्रशासनकै मिलेमतोअनुसार त्यसरी अस्पतालको क्याबिनमा लगेर छलफल गराइएको स्रोत बताउँछ । सो अस्पताल कांग्रेस सांसद सुनील शर्माको हो । शर्मा र अभियुक्त केशव दुलाल पुराना साथी हुन् । दुवैको घर मोरङ हो । शर्माले नै भर्ना हुनुपर्ने कागज बनाएर आफ्नै अस्पतालमा राखेर विभिन्न व्यक्तिसँग बैठक बस्ने वातावरण मिलाएका थिए ।

दुवैजनालाई अस्पतालकै एउटै क्याबिनमा लगेर राखिनु र सो मुद्दामा जोडिएका विभिन्न व्यक्तिलाई लगेर छलफल गराउनुले यसमा प्रहरीको नियत राम्रो नदेखिएको प्रहरी स्रोत बसेको छ । उनीहरूसँगै अस्पताल बसेका प्रहरीको छानबिन समितिले बयान लिइसकेको छ । अभियुक्त सानु भण्डारी तिनै व्यक्ति हुन्, जसको बयानका आधारमा यो मुद्दामा उच्चपदस्थहरू अनुसन्धानमा तानिएका थिए । नेताहरूले पैसा पनि लिएको, तर काम नगरिदिएको भन्दै उनले प्रहरीमा सबै यथार्थ बताइदिएका थिए ।

सोही आधारमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर बादलका सल्लाहकार डा. इन्द्रजित राई तथा पूर्वसांसद आङटावा शेर्पालगायत उच्चपदस्थ पक्राउ परेका हुन् । तर, मुद्दा दायर भएको २१ महिना हुँदा पनि यसमा जिल्ला अदालतमा सुनुवाइ हुन सकेको छैन । यही अवस्थामा मुख्य आरोपीलाई अस्पतालमा राखेर विभिन्न पक्षसँग छलफल गराइए पनि कारागारको भूमिकामाथि समेत प्रश्न उठेको छ । 

यो मुद्दाको मुछिएका थप उच्चपदस्थमाथि छानबिन हुन सकेको छैन । यसअघि आरोपीले नाम लिएका व्यक्तिको हकमा प्रमाण नपुगेको भन्दै पछि अनुसन्धान गर्ने भनेर मुद्दा दायर गरिएको थियो । 

सुझावित समाचार