नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

नेपाल, भारत र बंगलादेशबिच अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’ तय गरिने भएको छ । नेपालबाट भारत र बंगलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारणलाइन निर्माणका लागि भारतको नयाँदिल्लीमा नेपाल र भारतबिच सचिवस्तरीय बैठकमार्फत मोडालिटी तय गर्न लागिएको हो।

नेपाल र भारतबिच मंगलबार हुने सचिवस्तरीय बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली आज नयाँदिल्ली प्रस्थान गरेको छ । दुई देशको सचिवस्तरीय वार्ता र सहमतिपछि प्रसारणलाइन निर्माणको प्रक्रिया अगाडि बढाइनेछ ।

यही माघ ९ गते नेपाल र भारत ऊर्जा सहसचिवस्तरीय कार्यदलको १२औँ बैठकमा अन्तरदेशीय प्रसारणलाइन निर्माण र विद्युत् आयात तथा निर्यातलाई थप सहज बनाउने सहमति भएको थियो । सोही सहमति दुई देशबिचका सचिवस्तरीय बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए ।
उक्त बैठकमा नेपाल र भारतबिचको मौजुदा विद्युत् प्रसारणलाइनहरू, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरू, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजनाहरू तथा सम्बद्ध प्रसारणलाइन आयोजना र अन्तरदेशीय विद्युत् आयात–निर्यातका विषयमा छलफल भएको थियो ।

नेपालको इनरुवादेखि भारतको पूर्णिया र नेपालको दोधारादेखि भारतको बरेलीसम्म ४०० केभीका दुई प्रसारणलाइन निर्माण कार्य सन् ०३० सम्म सम्पन्न गर्ने सहमति भएको छ । उक्त प्रसारणलाइन नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन लिमिटेडको सेयर स्वामित्व रहने गरी दुवैतर्फ संयुक्त कम्पनी स्थापना हुनेछ । दुई देशबिचको सम्झौतापछि नेपालतर्फ रहने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ रहने कम्पनीमा भारतको ५१ प्रतिशत सेयर स्वामित्व रहनेछ । दुवैतर्फका कम्पनीमा बाँकी ४९ प्रतिशत सेयर स्वामित्व अर्को देशको रहने व्यवस्था हुनेछ ।

यसैगरी, चमेलिया–जौलजीवी २२० केभी डबल सर्किट प्रसारणलाइनको डिपिआर सन् २०२५ सम्म सम्पन्न गरिने सहमति भएको छ । यस्तै, ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनको क्षमता आठ सय मेगावाटबाट बढाएर एक हजार मेगावाट पुर्याउने बताइएको छ । यस्तै सन् २०३५ सम्ममा चार सय केभीका निजगढ–मोतिहारी र कोहलपुर–लखनऊ प्रसारणलाइन निर्माण सम्पन्न गरिने सहमति भएको छ । उक्त सहमतिलाई दुई देशबिचको सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म १५ हजार विद्युत् विदेशमा निर्यात गर्न सरकारले राखेको लक्ष्य पूरा गर्न यस्ता प्रसारणलाइन निर्माण सम्झौताले ठुलो सहयोग पुग्ने बताए । आगामी दिनमा थप विद्युत् निर्यात गर्ने गरी अन्तरदेशीय प्रसारणलाइनको संरचना बनाउँदै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । यसअघि नेपाल र भारतबिच १० वर्षमा १० हजार मेगावाट निर्यातका लागि दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ भने बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु भइसकेको छ ।
 

सुझावित समाचार