बेलौरी नगरपालिका–८ कलकत्तामा रहेको ज्ञान साधन बोर्डिङ स्कुलको बसले ठक्कर दिएर दुईवर्षीय बालकको मृत्यु भएको छ । बेलडाँडी गाँउपालिका–३ खैरीघाटका २ वर्षीय सुशान्त कुँवरको बसको ठक्करबाट आइतबार साँझ घटनास्थलमै मृत्यु भएको हो ।
साँझ ५ बजेतिर खैरीघाट क्षेत्रबाट विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा रहेको बसले सडकमा खेलिरहेका बालकलाई ठक्कर दिएको थियो । बालकलाई ठक्कर दिएको बसका चालकले बालकलाई अस्पताल लैजानुको साटो भागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले विद्यार्थी छाड्न विद्यालयदेखि खैरीघाट गाउँ पुगेको विद्यालयको सुपप्र ०१००१ख३६१० नम्बरको बसले नाबालक कुँवरलाई ठक्कर दिएर चालकले गाडी विद्यालय पुर्याएको बताए ।
बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सामान्य मानवीय संवेदनालाई समेत तिलाञ्जली दिँदै चालकले सीधै बस विद्यालय पुर्याएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । साँझ ६ बजेसम्म चालक भने प्रहरीको सम्पर्कमा आएका छैनन् । तर, मृतकका आफन्त र स्थानीयले चालकले बालकलाई मारेको दाबी गर्दै आएका छन् ।
बेलडाँडी गाउँपालिका–३ का वडाध्यक्ष दुर्गा चौधरीले बालकलाई ठक्कर दिएपछि उपचारका लागि अस्पताल लग्नुको साटो बालकलाई बिचबाटैमा छाडेर फरार हुने कार्य निन्दनीय भएको बताए । मानवीय संवेदना भुलेर बससहित फरार हुने काम भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषीउपर कार्बाहीको माग अघि सारेका छन् ।