संघीय संसदअन्तर्गत राष्ट्रिय सभामा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ अघि बढेको छ।
बिहीबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त विधेयक पेस गरेका थिए। सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव आइतबारको बैठकबाट अघि बढेसँगै यसको प्रक्रिया अघि बढेको हो।
बैठकमा सांसदहरूले आफ्नो धारणासमेत राखेका छन्। सांसदहरू भगवती न्यौपाने, डा. बेदुराम भुसाल, तुलसाकुमारी दाहाल, गोपीबहादुर अछामी, विष्णुकुमारी सापकोटा, रुक्मिणी कोइराला, सुरेशकुमार आलेमगर, पदमबहादुर परियार र सुमित्रा बिसीले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै धारणा राखेका हुन्।
सांसदहरूले राखेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री दाहालले पानीजहाज दर्ता ऐन, २०२७ मा समुद्रमा नेपाली पानीजहाज सञ्चालनको आधार नरहेकाले नयाँ विधेयक ल्याइएको बताए। विधेयकले समुद्रमाथि भूपरिवेष्ठित देशहरूको समेत अधिकार रहेको र त्यसको उपयोगका लागि कानुनी धरातल तयार पार्ने उनले उल्लेख गरे।
यो विधेयक पारित भई कानुनको रूपमा आए समुद्रमा नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालनको ढोका खुल्नेछ। यस्तै, नेपालभित्रका नदी तथा जलाशयहरूमा सञ्चालन हुने जलयान तथा पानीजहाजहरू नियमन र व्यवस्थापनका लागिसमेत कानुनी आधार तयार हुनेछ।
आइतबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको मन्त्री दाहालले जवाफ दिएपछि ‘विधेयकमाथि विचार गरियोस’ भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गरिएको थियो। प्रस्ताव माथि कसैले पनि असहमति नजनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मत पारित भएको घोषणा गरे।
राष्ट्रिय सभाको अर्को बैठक माघ २८ गते सोमबार १ः१५ बजे बस्ने छ।