दीर्घकालीन कोष परिचालन गर्ने संस्थाहरूबाट पूर्वाधार विकासमा साढे १५ खर्ब रुपैयाँ स्रोत परिचालन गर्न सकिने देखिएको छ । नेपाल व्यवस्थापन संघ (म्यान)ले गरेको अध्ययनले दीर्घकालीन कोष परिचालन गर्ने नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, पेन्सन फन्ड र जीवन बिमा फन्डमा रहेको साढे १५ खर्बबराबरको रकमको ठुलो हिस्सा पूर्वाधार परियोजनामा लगानी गर्ने सम्भावना रहेको औँल्याएको हो ।
अहिलेसम्म यस्ता कोषबाट औसतमा ८ प्रतिशत मात्र पूर्वाधारमा लगानी परिचालन भएको छ । सबैभन्दा बढी कर्मचारी सञ्चय कोषले १६.५ प्रतिशत ऊर्जा, रियल इस्टेट तथा पर्यटन (हवाई उड्डयन)का क्षेत्रमा लगानी गरेको पाइएको छ । जीवन बिमा कोषको अत्यन्त न्यून हिस्सा मात्र पूर्वाधारमा लगानी भएको म्यानले उल्लेख गरेको छ ।
अध्ययनले आठ खर्ब रुपैयाँ अवकाश कोषमा रहेको र यो कोष हरेक वर्ष विस्तार हुने क्रममा रहेकाले सरकारले लगानीका औजारहरू दिएर उक्त कोष पूर्वाधार विकासमा उपयोग गर्न सकिने औँल्याएको हो । साथै, उल्लिखित संस्थाहरूलाई नै स्वपुँजी लगानी र फाइनान्सिङका लागि विश्वसनीय र ब्यांकेबल परियोजनाहरू सरकारले दिनुपर्ने सरोकारवालाले बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल व्यवस्थापन संघ (म्यान)को ४४औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनको अवसरमा म्यानले अध्ययन गरेको ‘पूर्वाधार फाइनान्सिङमा आन्तरिक स्रोत परिचालन’लाई अध्येता कृष्णप्रसाद आचार्यले प्रस्तुतीकरण गरेका थिए । लगानी बोर्ड नेपालमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र अर्थशास्त्री एवं इन्स्टिच्युट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)का कार्यकारी निर्देशक विश्वास गौचनले टिप्पणी गरेका थिए ।
सोही अध्ययनमा आधारित रहेर भएको छलफलमा सहभागीले परियोजना कार्यान्वयनका लागि क्षमता विकास तथा परियोजना पूर्वतयारी गरी विश्वसनीय र ब्यांकेबल परियोजना तयारीमा जोड दिए । छलफलमा राष्ट्रिय बिमा प्राधिकरणका अध्यक्ष मदन दाहाल, कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धिताल, त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र विभागकी पूर्वडिन प्राध्यापक डा. कुसुम शाक्य तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी थिए ।
यसअघि सम्मेलनको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गरिरहेको बताए । म्यानका अध्यक्ष मोहनराज ओझाले दीर्घकालीन कोष परिचालन गर्ने संस्थाहरूले पोर्टफोलियो विविधीकरण गरी पूर्वाधारमा लगानीमार्फत मुलुकमा उत्पादन र रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिए ।
श्रेष्ठलाई ‘म्यानेजर अफ दी इयर’ अवार्ड
नेपाल व्यवस्थापन संघले हरेक वर्ष प्रदान गर्दै आएको म्यानेजर अफ दी इयर अवार्ड साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई प्रदान गरिएको छ ।
३७ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेसनमा कार्यरत उनले देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधीकरणमार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पुर्याएको भन्दै संघले अवार्डद्वारा सम्मान गरेको हो ।
यस वर्षको बोटलर्स नेपाल लिमिटेडको पब्लिक अफेयर्स, कम्युनिकेसन्स र सस्टेनेबिलिटी डाइरेक्टर स्नेहा राजभण्डारीलाई ‘वुमन म्यानेजर रिकगनिसन अवार्ड’ प्रदान गरेको छ ।