सय मिटर पुल आठ वर्षदेखि अधुरै

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण
सय मिटर पुल आठ वर्षदेखि अधुरै

निर्माण थालेको आठ वर्ष बितिसक्दा पनि एकछेउमा मात्रै पिलर ठडिएको तमोर नदीमाथि लिम्बुनी पुल

  • ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– १ र पाँचथरको हिलिहाङ जोड्ने लिम्बुनी पुल असार ०७७ मा सक्नुपर्ने भए पनि अहिलेसम्म चारपटक म्याद थप गरेर ताप्लेजुङतर्फ एउटा पिलर मात्र खडा गरिएको छ

तमोर नदीमाथि एक सय दुई मिटर लम्बाइको लिम्बुनी पुल निर्माण थालेको आठ वर्ष बितिसक्दा एकछेउमा पिलर मात्रै ठडिएको छ । भारत–नेपाल–चीन जोड्ने त्रिदेशीय मार्गअन्तर्गत ताप्लेजुङ हुँदै टिप्ताल जोड्ने तमोर नदीमाथि एक सय दुई मिटर लम्बाइको पुल बनाउन ६ फागुन ०७४ मा ठेक्का सम्झौता भएको थियो । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ र पाँचथरको हिलिहाङ जोड्ने सो पुल साढे तीन वर्ष (असार ०७७) मा सक्नुपर्ने भए पनि अहिले ताप्लेजुङतर्फ एउटा पिलर मात्र खडा गरिएको छ ।

२२ करोड ६ लाख ४२ हजार आठ सय ८९ रुपैयाँमा आरई÷सपना याक्थुङ जेभीसँग ठेक्का सम्झौता भएयता चारपटक म्याद थपिए पनि पुल निर्माणमा बल्ल २२ प्रतिशत मात्रै प्रगति भएको तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक आयोजना कार्यालय, ताप्लेजुङका सूचना अधिकारी इन्जिनियर वसन्तकुमार राईले जानकारी दिए ।

‘कोभिड–१९ ताका एक वर्ष ढिला हुन जानु स्वाभाविक थियो । त्यसबाहेकको ढिलाइमा भने निर्माण कम्पनीकै लापरबाही प्रमुख कारण हो,’ उनले भने । तोकिएको मितिमा निर्माण सम्पन्न नभएपछि पहिलोपटक २८ कात्तिक ०७८ र दोस्रोपटक सोही वर्ष चैत मसान्तसम्मका लागि समय थप गरे पनि निर्माणले गति नलिएको उनले जानकारी दिए । ‘तेस्रोपटक ३१ असार ०८१ सम्म र चौथोपटक आगामी १९ जेठका लागि म्याद थप भएको छ । तर, अहिले थप भएको म्यादमा पनि काम सकिने छाँटकाँट छैन,’ उनले भने ।

पुल तरेर एउटाबाट अर्को जिल्ला आवतजावत गर्ने आसमा बसेका स्थानीय भने निर्माणले गति नलिँदा दिक्क छन् । पछिल्लो समय पुल निर्माणका लागि दबाब बढाउन थालेको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू दिपेनले बताए । ‘पुल निर्माण थालेको लामो समय भयो, तर प्रगति देखिएको छैन,’ उनले भने । पुल निर्माणले पूर्णता पाए पूर्वी पहाडी जिल्लाहरू धनकुटा, ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुमका स्थानीयलाई आवतजावत र मालसामान ढुवानीमा सहज हुने अध्यक्ष पोमूले बताए । 

ठेकेदारलाई भुक्तानी दिने पैसा खोज्न कर्मचारी काठमाडौंमा 
ताप्लेजुङका ठुला योजनाहरूको काम गरेको रकम ठेक्केदारलाई दिन नसकेपछि तमोर करिडोर (सुभाङखोला, दोभान, ओलाङचुङगोला सडक आयोजना) कार्यालय, ताप्लेजुङका प्रमुख सिंहबहादुर विष्ट र इन्जिनियर वसन्तकुमार राई पेैसाको जोहो गर्न काठमाडौं पुगेका छन् ।

जिल्लामा विकास निर्माणको काम सकिएर भुक्तानी दिनुपर्ने पाँच करोड ९५ लाख रुपैयाँ नभएपछि रकम जोहो गर्न काठमाडौंमा रहेको कार्यालय प्रमुख विष्टले जानकारी दिए । ‘अहिलेसम्ममा तीन सडक योजनाको काम गरेको रकम भुक्तानी दिन बाँकी छ,’ उनले भने ।

बानन्दे–दोभान सडक कालोपत्रेका लागि ३३ करोड ९९ लाख ६४ हजारमा ठेक्का सम्झौता भएको र अहिलेसम्म २३ करोड ५६ लाख ४० हजार भुक्तानी गरी तीन करोड रुपैयाँ तिर्न बाँकी रहेको राईले बताए । त्यस्तै, ३६ करोड ६४ लाख ७१ मा ठेक्का लागेको नगुरादिन–हाङपाङ सडकमा काम भएमध्ये ७ करोड १९ लाख भुक्तानी गरेर दुई करोड तिर्न बाँकी रहेको उनले जानकारी दिए । सुकेटार–काफ्लेपाटी सडक कालोपत्रे गर्न ४१ करोड ७६ लाख ४७ हजारमा ठेक्का सम्झौता भई आठ करोड १८ लाख ८२ हजार भुक्तानी दिइएको र ९५ लाख रुपैयाँ बाँकी रहेको छ । 

तमोर करिडोरलाई एक अर्ब ६ करोड बजेट सुनिश्चित
त्रिदेशीय मार्गलाई जोड्ने सबैभन्दा छोटो तमोर करिडोरको ताप्लेजुङ खण्डमा पर्ने थिवादेखि इलाडाँडा क्षेत्रका लागि अर्थ मन्त्रालयले बहुवर्षीय योजना सञ्चालन गर्ने गरी एक अर्ब ६ करोड रुपैयाँ बजेट सुनिश्चितता गरेको छ । 

तमोर करिडोर आयोजनाका सूचना अधिकारी वसन्तकुमार राईले थिवादेखि ओलाङचुङगोला हुँदै तिप्तालासम्मका लागि दुई अर्ब १२ करोड रुपैयाँ माग गरे पनि अर्थले एक अर्ब ६ करोड रुपैयाँ स्रोत सुनिश्चितता गरिदिएको बताए । 

सुझावित समाचार