हमासले गर्‍यो थप तीन इजरायली बन्धक रिहा, बदलामा १८३ प्यालेस्टिनी मुक्त

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

प्यालेस्टिनी सशस्त्र समूह हमासले बन्धक बनाएका थप तीन इजरायली रिहा भएका छन् । सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा बन्धक बनाएका तीन जनालाई हमासले शनिबार रिहा गरेको हो । बदलामा इजरायलले विभिन्न समयमा पक्राउ गरी आफ्नो देशका विभिन्न कारागारमा राख्दै आएका १८३ प्यालेस्टिनीलाई रिहा गरेको छ । 

रिहा भएका तीन इजरायली बन्धकमा ५६ वर्षीय ओहाद बेन अमी, ५२ वर्षीय एली साराबी र ३४ वर्षीय या लेबी छन् । उनीहरूलाई शनिबार नै परिवार र आफन्तको जिम्मा लगाइएको छ । रिहा भएका बन्धकलाई हमासले गाजाको देइर अल–बलाह सहरको तोकिएको हस्तान्तरण स्थलबाट अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) को जिम्मा लगाएको थियो ।

कमजोर र थकित देखिएका तीनैजना बन्धकलाई मञ्चबाट आफ्ना अनुभव र रिहाइबारे बोल्न हमासले निर्देशन दिएपछि उनीहरूले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले आईसीआरसीलाई सुम्पेको थियो । बन्धक तीनजनालाई मध्य गाजाबाट आइसिआरसीको टोलीले इजरायली सीमामा तैनाथ इजरायली रक्षा बल (आइडिएफ)समक्ष हस्तान्तरण गरेको थियो ।

इजिप्ट र कतारको मध्यस्थतामा हमास र इजरायलबिच युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धक–कैदी आदान–प्रदानको यो पाँचौँ चरण हो । युद्धविरामको संयोजन अमेरिकाले गर्दै आएको छ । यसैबिच गाजा युद्धविराम सम्झौताअन्तर्गत इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।

See More On

सुझावित समाचार