दिल्लीमा २७ वर्षपछि भाजपा सरकार

प्रमुख नेताहरूले समेत चुनाव हारेपछि दिल्ली र पन्जाबमा बलियो उपस्थिति रहेको आपको भविष्यलाई लिएर राजनीतिक वृत्तमा मन्थन

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

दिल्ली विधान सभा निर्वाचन

चौथो कार्यकाल सरकार बनाउने दाबीसहित मैदानमा उत्रेको आम आदमी पार्टी (आप)लाई दिल्ली विधान सभा निर्वाचनमा ठूलो झड्का लागेको छ । ७० सिटको विधान सभामा ४८ सिटमा विजयी हासिल गरेसँगै भारतीय जनता पार्टी (भाजपा)लाई पूर्ण बहुमतसहित दिल्लीमा २७ वर्षपछि सरकारमा फर्कने ढोका खुलेको छ ।

कुल ७० सिटमध्ये ४८ सिट भाजपाको कोटामा जाँदा आपले जम्मा २२ सिट जितेको छ । जबकि भारतीय राष्ट्रिय कंग्रेसले एक सिट पनि जित्न सकेन । प्रमुख नेताहरूले समेत चुनाव हारेपछि दिल्ली र पन्जाबमा बलियो उपस्थिति रहेको आपको भविष्यलाई लिएर राजनीति वृत्तमा मन्थन सुरु भएको छ । चुनावमा कंग्रेसका ६८ र आपका २० उम्मेदवारको जमानत जफत भएको छ । 

सन् १९९३ मा भाजपाले अत्यधिक बहुमत हासिल गरेर पाँच वर्ष सरकार सञ्चालन गरेको २७ वर्षपछि पुनः दिल्लीमा सरकार बनाउँदै छ । मुख्यमन्त्री कसलाई बनाउने भन्नेबारे भाजपा हाई कमान्डले निर्णय लिनेछ । यसबिचमा कंग्रेसले १५ र आपले १२ वर्ष दिल्लीमा सरकार सञ्चालन गरेका थिए । २०२० को निर्वाचनमा भाजपाले जम्मा आठ सिट जितेको थियो ।

निर्वाचनमा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरिवालसहित आपका प्रमुख नेताहरू मनीष सिसोदिया, सत्येन्द्र जैन, सोमनाथ भारती, सौरभ भारद्वाज र अबध ओझालगायत पराजित भएका छन् । सुशासनको नारा लिएर राजनीतिमा स्थापित भएका पूर्वमुख्यमन्त्री केजरिवाल यसपटक भाजपाका उम्मेदवार प्रवेश बर्माबाट पराजित भए । केजरिवाल चार हजार ८९ मतले हारेका छन् । भाजपाका बर्माले ३० हजार ८८ मत पाए भने केजरिवालले २५ हजार ९९९ मत पाएका छन् । प्रवेश भाजपाका पूर्वमुख्यमन्त्री साहिबसिंह बर्माका पुत्र हुन् । 

सन् १९९३ मा भाजपाले ४९ सिट जितेर सरकार बनाएको थियो । त्यसवेला पाँच वर्षको बिचमा भाजपाबाट तीनजना नेता मदनलाल खुराना, साहिबसिंह बर्मा र सुष्मा स्वराज मुख्यमन्त्री भएका थिए । निर्वाचनमा यसपटक खुरानापुत्र हरीश र बर्मापुत्र प्रवेशले निर्वाचन जिते । बर्मा दिल्लीको मुख्यमन्त्रीका रूपमा दाबेदार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

केजरिवालविरुद्ध भ्रष्टाचारको मुद्दा छ । केजरिवाल करिब ६ महिना जेलमा थिए । आपको हारको एउटा ठुलो कारण उसका सबैभन्दा ठुला नेतामाथि मदिरा घोटलामा संलग्न भएको आरोपलाई मानिएको छ । मुख्यमन्त्री रहँदा केजरिवालले आफ्नो सरकारी निवासमा गरेका परिवर्तनलाई भाजपाले ठुलो चुनावी मुद्दा बनाएको थियो । यसलाई पनि चुनावी हारको कारणमध्ये एक मानिएको छ । 

उनले गत सेप्टेम्बरमा राजीनामा दिएपछि मुख्यमन्त्री भएकी आपनेतृ आतिशी भने विजयी भएकी छिन् । उनले जम्मा ९८९ मतले जितेकी छिन् ।

देशको राजधानी दिल्ली विधान सभामा यसपटक भाजपाले निकै मिहिनेत गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा र गृहमन्त्री अमित साहले दिल्ली विधान सभा निर्वाचनमा गरेको मिहिनेतको प्रतिफल प्राप्त भएको भाजपा नेताहरूले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । 

मोदीले भाजपा मुख्यालयमा शनिबार साँझ कार्यकर्तालाई सम्बोधन गर्दै जनताले ऐतिहासिक फैसला गरेको भन्दै उनीहरूले भाजपालाई लगाएको ऋणको चुक्ता विकासबाट दिने प्रतिबद्धता जनाए । उनले एक दशकको आपदा (संकट)बाट दिल्ली मुक्त भएको पनि बताए । 

भाजपा नेता एवं गृहमन्त्री अमित साहले ‘दिल्लीको दिलमा मोदी’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताले झुट, धोका र भ्रष्टाचारको सिसमहल भत्काएर दिल्लीको संकट मुक्त गरेका छन् ।’ उनले आम आदमी पार्टीलाई संकटका रूपमा प्रस्तुत गरेका छन् । 

दिल्लीका मुख्यमन्त्री आतिशीले निर्वाचन परिणाम स्वीकार गर्ने बताइन् । ‘दिल्लीका जनताको आदेश हामीलाई स्वीकार छ,’ उनले भनिन् । दिल्लीका पूर्वमुख्यमन्त्री केजरिवालले भने, ‘विनम्रतासाथ म जनताको निर्णय स्वीकार गर्छु । भाजपालाई धेरै–धेरै बधाई छ, जुन आशा र अपेक्षाका साथ जनताले बहुमत दिएका छन्, त्यो पूरा होस् भन्ने शुभकामना छ ।’ 

कंग्रेस नेतृ प्रियंका गान्धीले परिवर्तनका लागि जनताले भोट दिएको प्रतिक्रिया दिएकी छिन् । ‘जनताले परिवर्तनका लागि भोट दिएका हुन् । यसलाई जनताले परिवर्तन चाहेको अर्थमा बुझ्नुपर्छ ।’

कुनै समय भ्रष्टाचारविरोधी आन्दोलनमा केजरिवाललाई साथ दिएका सामाजिक अभियन्ता अन्ना हजारेले प्रतिक्रिया दिएका छन्, ‘केजरिवाल र आम आदमी पार्टीलाई मदिराले चुनाव हराएको हो ।’

मोदीको तेस्रो कार्यकालमा आठ राज्यमा भएको निर्वाचनमा ६ राज्य भाजपासहितका नेसनल डेमोक्रेटिक अलाइन्स (एनडिए)ले जितेको छ । दिल्लीसँगै अब भाजपाको एकल सरकार भएका राज्यहरूको संख्या १४ भएको छ ।

दिल्लीमा आम आदमी पार्टी हारका पाँच कारण 

  टिप्पणी : आशुतोष

दिल्ली विधान सभा चुनावको नतिजा आम आदमी पार्टी (आप) र अरविन्द केजरिवाल दुवैका लागि स्तब्ध पार्ने खालको छ । तर, हारको जिम्मेवारी उनीहरूले स्विकार्नुपर्छ र भविष्यमा आफ्ना गल्तीलाई सुधार्नमा केन्द्रित हुनुपर्छ । दिल्ली विधान सभा चुनावमा आपको हार के यस पार्टीको अवसानको प्रस्थान विन्दु हो ? अहिले नै यस्तो निष्कर्षमा पुग्नु हतार हुन सक्छ । नतिजा आउनुभन्दा अघि नै माहोल भाजपाको जितका लागि उपयुक्त रहेको भनेको थिएँ । देश बदल्ने वाचा गरेर आएका केजरिवाललाई उल्टै राजनीतिले बदलिदियो । १२ वर्षको सत्तायात्राले उनीलाई पनि नैतिक चमक गुमाएका अरूजस्तै राजनीतिज्ञमा परिणत गरिदियो । आफ्नो सिटसमेत जोगाउन नसक्नुभन्दा ठूलो दुःख उनका लागि के होला ? यो हार ती तमाम राजनीतिज्ञका लागि पाठ पनि हो, जो आफूलाई पार्टी र जनताको सामूहिक बुद्धिभन्दा ठुलो ठान्छन् ।

१. नयाँ रहने आप
आपको सबैभन्दा ठुलो कमजोरी मतदाताका लागि अब यो फरक पार्टी रहेन । आपसँग विगतमा ‘परिवर्तन चाहने नयाँ पार्टी’ भन्ने विशिष्ट नैतिक पुँजी थियो । भारतको समकालीन राजनीतिमा थोरै पार्टीले मात्र यस्तो दाबी गर्न सक्थे । तर, समयसँगै आपले आफ्नो प्रमुख मूल्य त्याग्यो, पार्टीका सबैभन्दा इमानदार समर्थकले पार्टी र नेताप्रति विश्वास गुमाएपछि यो कमजोर बनेको थियो । सन् १९८४ मा भाजपाले पनि यस्तै स्थिति भोगेको थियो, जब उसले लोकसभा चुनाव (देशव्यापी संसदीय चुनाव)मा केवल दुई सिट मात्र जितेको थियो । हुन त आप वैचारिक पार्टी होइन, तर यसको एक निश्चित नैतिक सद्गुण र उत्तरदायित्व थियो । यही नैतिक छविका कारण सन् २०१५ र सन् २०२० को दिल्ली विधान सभा चुनाव उसले भारी बहुमतले जित्न सकेको थियो ।

२. नेताहरूमाथि आरोपपछि नैतिकताको प्रश्न
आपको हारको दोस्रो कारण यसका नेतामाथि लागेका गम्भीर भ्रष्टाचारको आरोप रह्यो । यी आरोपले केजरिवालको छवि धमिल्यायो । मदिरा लाइसेन्स जारी गर्दा घुस लिएको प्रकरण पार्टीको घाँटी समात्ने गँगटो साबित भयो । यस प्रकरणमा केजरिवालका सहकर्मी मनीष सिसोदिया, सञ्जय सिंहलगायत लामो समय जेल परे । ‘सिसमहल’ विवाद उनको प्रतिष्ठामाथिको अन्तिम धक्का साबित भयो । विगतमा अरू नेताहरूको सम्पत्ति र विशाल बंगलाको आलोचना गरेर नथाक्ने केजरिवालले आफू बस्ने आवासमा करोडौँ खर्च गरेको तथ्यले धेरै मतदातालाई बिच्कायो । राष्ट्रिय राजधानीमा आपको उदयको सबैभन्दा ठूलो स्तम्भ मध्यम वर्ग थियो । यस वर्गको आपप्रति मोहभंग हुँदै गयो । पछिल्लो घटनाले तिनलाई पार्टी त्याग्न सहज बनाइदियो । 

३. नीतिगत पक्षाघात
सन् २०२० देखि २०२५ सम्मबिचको तेस्रो कार्यकालमा आप सरकारको असफलताले यसको पतनमा योगदान पुर्‍यायो । सन् २०१५ देखि २०२० बिचको पहिलो पूर्ण कार्यकालमा आप सरकारले आफ्ना प्रतिज्ञा पूरा गरेको देखिएको थियो । निःशुल्क बिजुली र पानी चुनावी वाचा तत्काल कार्यान्वयन गरिएको थियो । त्यस अवधिमा दिल्लीका सरकारी विद्यालयमा देखिएको सुधारको विश्वभर प्रशंसा भयो । ‘मोहल्ला क्लिनिक’ प्राथमिक स्वास्थ्य सेवा सुधारमा एक उत्कृष्ट कदम साबित भएको थियो । महँगो निजी स्वास्थ्य केन्द्रको सेवा वहन गर्न नसक्ने समाजका अधिकांश हिस्सामाझ यो क्लिनिक लोकप्रिय बन्यो । तर, पछिल्लो कार्यकालमा आप सरकारले कुनै उल्लेखनीय नीतिगत र प्रशासनिक कदम चाल्न सकेन । पार्टी शक्तिका लागि भाजपाले पठाएको राज्यका लेफ्टिनेन्ट गर्भनरसँग बाझिरह्यो । केन्द्र र आप सरकारबिचको झगडाले सहरमा शासन ठप्पजस्तै भएको थियो । यत्रतत्र भत्किएका सडक र खुला ढल देख्न थालिएको थियो ।

४. राजनीतिमा सधैँ नाटकले काम गर्दैन
१० वर्ष लगातार सत्तामा रहेका जुनसुकै सरकारले पनि सत्ताविरोधी (एन्टी इन्कुम्बेन्सी) लहरको सामना गर्ने गर्छन् । केन्द्रको मोदी सरकारसमेत सन् २०२४ को लोकसभा चुनावमा यस लहरबाट बच्न सकेन, जहाँ भाजपाले एकल बहुमत गुमाउन पुगेको छ । दिल्लीको आप सरकार पनि यसको अपवाद हुन सकेन । 

५. विरक्त पार्टी स्वयंसेवक
अघिल्ला चुनावमा आपको सबैभन्दा ठूलो सम्पत्ति यसका निःस्वार्थ स्वयंसेवक बल पनि थियो, जो पार्टीबाट टाढिँदै गएका थिए । त्यसमाथि राजनीतिक दल सधैँ स्वयंसेवकका भरमा चल्न सक्दैन । आम आदमी पार्टीले राष्ट्रिय राजधानीमा पार्टी संरचना सिर्जना गर्न ध्यान दिएन । यसविपरीत भाजपा आफ्ना हरेक काम उसको बलियो संगठनमार्फत अघि बढाउँछ । केजरिवाल भने स्वभावैले बलियो संगठनमा विश्वास गर्दैनन् । संगठन निर्माणमा ध्यान नदिने अनि फेरि स्वयंसेवकलाई पनि बेवास्ता गरेपछि पार्टीको काम कसले गर्छ ? पछिल्ला १० वर्षमा आपका अधिकांश स्वयंसेवकले बेवास्ता गरिएको मसहुस गरे । केहीले विगतमा आफ्नो प्रयोग मात्र भएको ठाने । तिनीहरूमध्ये धेरैजसो या त पार्टी छोडेर आफ्नो सामान्य जीवनमा फर्किए, या अन्य दलहरूमा सामेल भए । यसैले गर्दा यस चुनावमा आपले पार्टीको काम गर्न पैसा तिरेर मानिस भर्ती पर्नुपर्‍यो । 

(आशुतोष ‘हिन्दु राष्ट्र’का लेखक र सत्यहिन्दी डट कमका सहसंस्थापक हुन् )
– एनडिटिभीबाट

सुझावित समाचार