पोखरा भ्रमण वर्ष घोषणाको तयारी : २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्य

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा फागुन ३ गते गर्ने पोखरा महानगरपालिकाकाे तयारी

शनिबार, २६ माघ, २०८१
डिजिटल संस्करण

देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ। पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा महानगरपालिकाले तयारी गरेको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए।

घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मूल आयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समितिसहित ४३ वटा उपसमिति गठन गरिएको छ।  

यी समिति तथा उपसमितिमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधि, चारवटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय टोल विकास संस्था, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिलगायतको प्रतिनिधित्व रहेको छ।  

'हामी भव्य रूपमा पोखरा भ्रमण वर्ष घोषणाको तयारीका लागि जुटेका छौँ। सबैसँग सल्लाह र छलफल गरिरहेका छौँ। भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदूतसमेतको सहभागिता रहनेछ,' आचार्यले भने। भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने तयारी गरिएको छ।

वर्षभरि पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गरिनेछन्। पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाबाट स्थानीय भेषभूषासहित बृहत् झाँकी र्याली निकालिनेछ।

पोखरा महानगर र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना हुने र उक्त कार्यक्रम पूर्वपोखराको ३३ वटै वडाको प्रतिनिधित्व हुने गरी झाँकी तथा र्यालीको आयोजना हुने प्रमुख आचार्यले बताए। यसैगरी, पर्यटनको क्षेत्रबाट एक वटा ब्यानरसहित झाँकी तथा र्यालीको आयोजना गरिनेछ।  

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने बताउँदै त्यसलाई सफल बनाउनका लागि पर्यटनसँग सम्बद्ध संघसंस्थाले सहकार्य गरेर अगाडि बढ्ने बताए। 
 

See More On

सुझावित समाचार