धादिङको खनियाबास कुरीमा वर्थिङ सेन्टर भवन शिलान्यास

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत २ करोड ५१ लाख रुपैयाँ लागतमा कुरी स्वास्थ्य चौकी–वर्थिङ सेन्टर निर्माण गरिँदै

शनिबार, २६ माघ, २०८१
डिजिटल संस्करण

भारतीय सहयोगमा  निर्माण हुन लागेको धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ सेन्टर भवन निर्माणको शुक्रबार शिलान्यास  भएको छ। संविधानसभा सदस्य दिलमान पाख्रिन, खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा भारतीय राजदूतावासकी काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरे। 

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५१ लाख रुपैयाँ  लागतमा कुरी स्वास्थ्य चौकी–वर्थिङ सेन्टर निर्माण गरिँदै छ। यहाँ स्वास्थ्य चौकी–वर्थिङ सेन्टर, पालेघर, प्रांगण पर्खाल, चमेनागृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको निर्माण हुने भारतीय राजदूतावासले जनाएको छ। यो भारत सरकारको अनुदान सहयोगमा निर्माण हुँदै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी)को निरन्तरता हो। 

शुक्रबार कार्यक्रममा सहभागी सरोकारवालाहरूले नेपालमा जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरे। यो स्वास्थ्य चौकी–वर्थिङ सेन्टरले नेपालका जनतालाई सहज चिकित्सा स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्ने उनीहरूको विश्वास थियो। 

भारतीय दूतावासका अनुसार सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ। यीमध्ये बागमती प्रदेशमा मात्रै १०८ वटा परियोजना छन्। भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा  नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई हालसम्म १ हजार ९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ। त्यसमध्ये धादिङका विभिन्न संस्थाहरूलाई १५ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको छ।

‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सुझावित समाचार