विपिन रिहाइको पहल : अरब संसद्का अध्यक्षलाई सभामुख घिमिरेको चिठी, परराष्ट्रमन्त्रीको फोनवार्ता

शनिबार, २६ माघ, २०८१
डिजिटल संस्करण

हमासद्वारा ०८० असोज २० मा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको प्रयासका लागि सभामुख देवराज घिमिरेले शुक्रबार अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र पठाएका छन् । ‘मैले महामहिमलाई विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेको छु,’ सभामुख घिमिरेले सामाजिक सञ्जाल फेसबुक पेजमा जानकारी दिएका छन् । अरब संसद् हमास समूहसँग सम्पर्कमा रहेको मानिन्छ । 

‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।  पत्रमा सभामुखले भनेका छन्, ‘नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु ।’ 

जोशीको रिहाइका लागि सरकारले पनि कुटनीतिक पहल गरिरहेको छ । गएको आइतबार नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कुटनीति समेत प्रयोग गर्न सकिने सुझाव दिएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । पत्रमा सभामुख घिमिरेले नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदान–प्रदान सम्झौताको स्वागत गरेको समेत उल्लेख गरेका छन् ।  

परराष्ट्रमन्त्रीको फोनवार्ता

यसैगरी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिहीबार राति इरानका विदेशमन्त्री सड्ढयद अब्बास अराघ्चीसँग फोनवार्ता गर्दै जोशी रिहाइको प्रयास गरिदिन अनुरोध गरेकी छिन् । इरानी विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले बताए । 

‘इजरायल सरकार र हमासबिच युद्धविरामको कुराकानी भएदेखि नै परराष्ट्रमन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहनुभएको छ,’ पाठकले भने, ‘विपिनको शीघ्र मुक्ति हुनेछ भन्नेमा उहाँ आशावादी हुनुहुन्छ ।’ 

इजरायल सरकार र हमासबिच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले मुक्त गर्न थालेको छ । यही क्रममा हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक प्रयास जारी राखेको छ । परराष्ट्रमन्त्री राणाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेकी थिइन्। 

सुझावित समाचार