भैरहवामा अन्तर्राष्ट्रिय उडानले पुनः गति लिँदै

बिहीबार एकै दिन तीन उडानबाट ४५२ यात्रुले गरे आवतजावत

शुक्रबार, २५ माघ, २०८१
डिजिटल संस्करण

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले पुनः गति लिन थालेको छ । बिहीबार मात्रै तीन वायुसेवा कम्पनीले गरेको अन्तर्राष्ट्रिय उडानमार्फत चार सय ५२ यात्रुले आवतजावत गरेका छन् । 

बिहीबार कुवेतको जजिरा, फ्लाई दुबई र थाई एयर एसियाले उडान गरेको गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिए । जजिरा एयरवेजले एक सय दुईजना यात्रु बोकेर भैरहवा अवतरण गरेको थियो ।

भैरहवाबाट एक सय ४९ यात्रु लिएर जजिराले उडान गर्यो । फ्लाई दुबईको जहाजबाट ४४ जना यात्रु भैरहवा ओर्लिए भने २९ जना उडे । त्यस्तै, थाई एयर एसियाले भैरहवाबाट एक सय २८ यात्रु लिएर उडान गरेको तिवारीले बताए । महाप्रबन्धक तिवारीले सामाजिक सञ्जाल फेसबुकमार्फत भैरहवामा बिहीबार एकै दिन तीन उडान भएको र ती उडानबाट चार सय ५२ यात्रुले आवतजावत गरेको जानकारी गराएका हुन् । 

२ जेठ ०७९ देखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत कात्तिकदेखि नियमित सञ्चालनमा आउन थालेको थियो । यद्यपि, एयरलाइन्स कम्पनीहरूले न्यून भिजिबिलिटीको कारण देखाउँदै उडानलाई स्थगन गरेका थिए । अहिले एकै दिन तीनवटा अन्तर्राष्ट्रिय उडान हुँदा विमानस्थलमा चहलपहल बढेको महाप्रबन्धक तिवारीले बताए ।

‘गौतम बुद्ध विमानस्थलमा माहोल सिर्जना भएको छ, अब आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुमाझ पनि भैरहवाको प्रचारप्रसार हुनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडानले निरन्तरता पायो भने यात्रुले पनि भैरहवाबाटै उडान गर्न टिकट काट्नेछन्, भैरहवामा यात्रु पाउन थाल्नेछन् ।’ 

भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडानहरू आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङ (५० प्रतिशत छुट), यात्रुसेवा शुल्क, हवाई टिकटमा भ्याट छुट, हवाई इन्धनमा विशेष सहुलियत उपलब्ध गराइएको छ । 

सुझावित समाचार