नेपाली बजारमा अमेरिकी डलरको मूल्यले फेरि रेकर्ड ब्रेक गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि डलरको खरिद मूल्य १३९.२० रुपैयाँ र बिक्री मूल्य १३९.८० रुपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो ।
मंगलबार एकैपटक डलरको मूल्य ९२ पैसाले बढेको हो । सोमबार एक अमेरिकी डलरको खरिद मूल्य १३८.२८ रुपैयाँ र बिक्री मूल्य १३८.८८ रुपैयाँ थियो । पछिल्लोपटक नेपाली बजारमा डलरको मूल्यले पटक–पटक ‘रेकर्ड ब्रेक’ गर्दै आएको छ । यद्यपि, बुधबार डलरको मूल्य घटेको छ । राष्ट्र बैंकले बधुबारका लागि डलरको बिक्री मूल्य १३९.६२ रुपैयााँ तोकेको छ ।
नेपाली मुद्रा भारतीय मुद्रासँग पेग (विनिमयदर स्थिर) छ । त्यो अवस्थामा भारतमा डलरको मूल्य बढ्दा नेपालमा बढ्ने र भारतमा घट्दा नेपालमा पनि घट्ने हुन्छ । चालू दिनको साँझ ५ः१५ (भारतको ५) बजे भारतमा कायम डलरको मूल्यका आधारमा नेपाली बजारमा भोलिपल्ट यसको मूल्य तोकिन्छ । डलरको मूल्य बढ्नु भनेको भारतीय र नेपाली मुद्रा कमजोर हुनु हो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमन र उनले ल्याएका विभिन्न नीतिका कारण यसको मूल्य बढेको जानकार बताउँछन् । उनले कर्पाेरेटमैत्री नीति ल्याउने पनि बताउँदै आएका थिए । ५ नोभेम्बर ०२४ मा राष्ट्रपति निर्वाचित ट्रम्पले गत २० जनवरीमा पदभार गरेका छन् । उनका पालामा अमेरिकी अर्थतन्त्र सुधार भई थप बलियो हुने विश्वास गरिएको छ ।
डलर आफैँमा लगानीका लागि सुरक्षित सम्पत्ति अर्थात् ‘एसेट’ मानिन्छ । ट्रम्पका पालामा अमेरिकी अर्थतन्त्र थप बलियो हुने विश्वासका कारण विश्वका ठुला लगानीकर्ताले डलरमा लगानी बढाएका छन् । फलस्वरूप विश्व बजारमा डलरको मूल्य बढ्न गई भारत हुँदै नेपालमा पनि मूल्य बढेको बताइन्छ ।
ट्रम्पको आगमनपछि अमेरिकाले क्यानडा, मेक्सीको, चीनलगायतका मुलुकबाट हुने वस्तु आयातमा कर लगाएको छ । विभिन्न देशलाई दिने अनुदान कटौती गरिएको छ भने अवैध आप्रवासीलाई पनि फिर्ता गरिँदै छ । आन्तरिक अर्थतन्त्र बलियो बनाउन थप नीति ल्याउने उनले संकेत गरेका छन् । त्यसको असरले डलरको मूल्य बढ्न गएको बताइएको छ ।
राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अमेरिकी सरकारको पछिल्ला नीतिकै कारण डलरको मूल्य बढेको बताए । ‘अमेरिकाले चीन, मेक्सीको, क्यानडालगायतका मुलुकबाट हुने आयातमा कर लगाएको छ । त्यसले अमेरिकी अर्थतन्त्र बलियो हुने भएपछि डलर बलियो हुँदै गएको छ । अन्य मुलुकको मुद्रा भने कमजोर भएको छ । त्यसले गर्दा भारतमा पनि डलरको मूल्य बढेको छ । नेपाली मुद्रा भारतीय मुद्रासँग पेग छ । भारतमा डलरको मूल्य बढेपछि नेपालमा पनि डलरको मूल्य बढेको हो,’ उनले भने,’ उनले भने, ‘पछिल्लो समय भारतबाट पनि डलर बाहिरिएको छ । अर्थात्, भारतमा पनि डलरको माग उच्च छ । त्यहाँ डलरको रिजर्भ निरन्तर घट्दै गएको छ । त्यसले गर्दा यसको मूल्य थप बढ्न गएको छ ।’ ट्रम्पले आन्तरिक लगानी प्रोत्साहन गरिरहेका छन् ।
भारतमा चार महिनामा ७५ अर्ब डलरले घट्यो विदेशी मुद्रा सञ्चिति
पछिल्लो चार महिनामा भारतमा विदेशी मुद्रा सञ्चितिमा उच्च गिरावट आएको छ । भारतीय केन्द्रीय बैंकका अनुसार चार महिनामा भारतको विदेशी मुद्रा सञ्चिति ७५ अर्ब ३२ करोड ८० लाख डलरले घटेको छ ।
२७ सेप्टेम्बर ०२४ मा भारतसँग सात खर्ब चार अर्ब ८८ करोड डलर विदेशी मुद्रा सञ्चिति थियो । २४ जनवरीसम्म आउँदा त्यो ६ अर्ब २९ अर्ब ५५ करोड ७० लाख डलरमा सीमित भएको छ । भारतमा डलरको माग बढेपछि त्यहाँको केन्द्रीय बैंकले पटक–पटक बजारमा डलर पठाएको छ । तर, माग नियन्त्रण हुन सकेको छैन । त्यसले गर्दा त्यहाँ डलरको मूल्य बढ्न गई नेपालमा पनि बढेको जानकारवाला बताउँछन् । नेपालमा भने विदेशी मुद्राको सञ्चिति बढ्दै गएको छ । नेपालसँग पुस मसान्तसम्म १६ अर्ब ८४ करोड डलरबराबरको विदेशी मुद्रा सञ्चिति छ ।