नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ रामेछापले १२औँ राष्ट्रिय पुस्तक दिवस तथा श्री पञ्चमीको अवसरमा रामेछापमा कारागारमा रहेका कैदीबन्दीहरूलाई पुस्तक तथा स्टेसनरी हस्तान्तरण गरेका छन्।
कारागारमा कैद जीवन बिताइरहेका कैदीबन्दीहरुलाई अध्ययनमा सहयोग पुगोस् भन्ने हेतुले जिल्लामा रहेका विभिन्न स्टेसनरी पसलहरूले विभिन्न लेखकहरूले लेखेका पुस्तकहरू जम्मा गरी हस्तान्तरण गरेका हुन्।
जिल्लामा विगत लामो समयदेखि स्टेसनरी व्यवसाय सञ्चालनमा गर्दै आएका दीक्षित स्टेसनरी, जेएन पुस्तक पसल, मिलिजुली पुस्तक तथा स्टेसनरी पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक र शैक्षिक सामग्री केन्द्रबाट प्राप्त करिब ३० हजार मूल्यबराबरका पुस्तक र स्टेसनरी सामग्री रहेका छन्।
ती सबै सामग्री नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका जिल्ला अध्यक्ष सुजन घिमिरेलगायत व्यवसायीहरूको टोलीले कारागार कार्यालय रामेछापमा पुगेर कारागारका प्रमुख रूपलाल तामाङलाई हस्तान्तरण गरेका हुन्। कैदीबन्दीहरूको लागि उपलब्ध गराएका पुस्तकले कैदीबन्दीहरूलाई अध्ययनको लागि दिइने कारागार प्रमुख तामाङले बताए।