पाथीभरा केबलकार आन्दोलनरत पक्ष राजनीतिक तहको वार्ता टोलीसँग मात्र वार्तामा बस्ने

सोमबार, २१ माघ, २०८१
डिजिटल संस्करण

हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा निर्माण भइरहेको  केबलकारको विरोध गर्दै आन्दोलनमा उत्रिएका ‘नो केबलकार समूह’ले राजनीतिक नेतृत्वको वार्ता टोलीसँग मात्र वार्ता गर्ने बताएका छन् । आइतबार सरकारले वार्ता टोली गठन गरेको छ । 

‘नो केबलकार समूह’मध्येको एक किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले सरकारले वार्ताका लागि गरेको आह्वान सकारात्मक भएको बताए । तर, सहसचिव तहको कर्मचारीको संयोजकत्वमा वार्ता टोली राखेकोमा आपत्ति जनाउँदै यो समितिमा राजनीतिक तहको वार्ता टोली हुनुपर्ने एक्तेनले जानकारी दिए ।  

यो पाथीभरामा केबलकार राख्ने निर्णय राजनीतिक तहबाट भएको र राजनीतिक तहकै संयोजकत्वमा वार्ता टोली हुनपर्ने आन्दोलन पक्षको माग रहेको छ । कोशी प्रदेश सरकारले वार्ताको आह्वान गर्दासमेत उनीहरूले संघीय सरकारको वार्ता टोलीसँग मात्र वार्तामा बस्ने बताएका थिए । आन्दोलनरत पक्षले राजनीतिक तहको वार्ता टोलीसँग मात्र वार्तामा बस्ने जानकारी दिए ।

एक सातादेखि गरेको यातायात बन्दले ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाको जनजीवनमा ठुलो प्रभाव परेको छ । पाथीभरामा केबलकार निर्माण सुरु गरेको भन्दै माघ १२ गते ‘नो केबलकार समूह’ र प्रहरीबिच झडप भएको थियो । झडपमा तीनजनालाई गोली लागे घाइते भएपछि  ‘नो केबलकार समूह’ले यातायात बन्द गरेको सात दिन बितेको छ ।

‘नो केबलकार समूह’ समूह पक्षले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने सर्त राखेका छन् । त्यस्तै, १२ गते भएको आन्दोलनको क्रममा गिरफ्तार भएका चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बू तथा माघ १५ गते बन्द गर्दै हिँडेका वेला पक्राउ परेका प्रदीप मादेनलाई तत्काल रिहा गर्नुपर्ने मागसमेत राखेका छन् । 

माघ १५ गतेबाट आन्दोलनरत पक्षले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा यातायात बन्द गरेका थिए भने माघ २० र २१ गतेदेखि अरुणपूर्वका नाै जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्द छ । माग पूरा नभए उनीहरूले अरुणपूर्वका ती नाै जिल्लामा माघ २२ गतेदेखि आमहडतालसमेतको घोषणा गरेको बताएका छन् । 
 

सुझावित समाचार