अब निरोधात्मक क्षेत्रमा काम गर्न आवश्यक छ : स्वास्थ्यमन्त्री पौडेल

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालमा पछिल्लो समय बिरामीहरूको संख्या बढ्दै गइरहेकोले निरोधात्मक क्षेत्रमा काम गर्नुपर्ने औँल्याएका छन्। आइतबार मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालको नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले अहिलेको अवस्थामा सचेतना वृद्धि गर्ने र रोग नै लाग्न नदिने (निरोधात्मक)गरी काम गर्न आवश्यक रहेको बताएका हुन्। 

मन्त्री पौडेलले बिरामीको संख्या बढ्दै जाँदा उपचार सेवासमेत प्रभावित हुन सक्ने बताउँदै निरोधात्मक क्षेत्रमा बढी ध्यान दिन आवश्यक रहेको बताए। हाल उपचारात्मक तरिकाबाट स्वास्थ्य क्षेत्रमा काम भएकोले यस शैलीलाई परिवर्तन गरी दीर्घकालीन रणनीतिसहित काम गर्नुपर्ने उनको भनाइ छ। ‘हामीले निरोधात्मक क्षेत्रमा काम नै गर्न सकेका छैनौँ, यसरी नै काम गर्दै जाने हो भने भविष्यमा उपचार सेवा पुर्याउन कठिन हुनेछ,’ मन्त्री पौडेलले भने, ‘मानसिक रोग पनि अहिले ठुलो समस्या बनेको छ, पाँच तहका अस्पतालमध्ये एउटा अस्पताल यसको लागि छुट्याउन आवश्यक देखिन्छ।’ उनले स्वास्थ्य पत्रकार मञ्च नेपाल र स्वास्थ्य क्षेत्रमा कलम चलाउनेहरूले सचेतना प्रवर्द्धन गर्न र नागरिकमा जागरण ल्याउन आवश्यक रहेको बताए।

मञ्चका अध्यक्ष भिसा काफ्लेले मन्त्रालयसँग सहकार्य र समन्वय गरी मञ्चले काम गर्ने बताए। 
 

सुझावित समाचार