आठ वर्षमा बल्ल जमिनमा देखियाे लिम्बुनी पुलकाे पिलर

चारपटक म्याद थप्दा २२ प्रतिशत प्रगति

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

त्रिदेशीय मार्ग ताप्लेजुङ–टिप्ताला जोड्ने तमोर करिडोरमा पर्ने तमोर नदीमाथिको लिम्बुनी पुल निर्माणमा चारपटक म्याद थप्दा पनि २२ प्रतिशत मात्रै प्रगति भएको छ । नेपालकै छोटो उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गमा पर्ने तमोर नदीमाथिको पुल निर्माण सुरु भएको आठ वर्ष लागि सक्दा पुल निर्माण भने जमिनबाट माथि उठ्न सकेको छैन । 

पूर्वी नेपालको समृद्धिसँग जोडिएको तमोरमाथि बन्दै गरेको ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ र पाँचथर जिल्ला हिलिहाङ जोड्ने पुल निर्माण २२ प्रतिशत मात्र काम भएको छ ।  

भारतको सिमाना विराटनगरको रानी र ताप्लेजुङको टिप्ताला जोड्ने नेपालकै छोटो उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गमा पर्ने तमोर नदीमाथिको पुल ६ फागुन ०७४ मा सम्झौता भई काम सुरु भएको थियो । आर.ई.-सपना.याक्थुङ जेभी काठमाडौंसँग २२ करोड ६ लाख ४२ हजार आठ सय ८९ रुपैयाँमा सम्झौता भएको थियो । 

पुल निर्माण सम्झौताअनुसार असार मसान्त ०७७ सम्ममा सक्नुपर्ने भए पनि अहिलेसम्ममा ताप्लेजुङतर्फको भागमा एउटा पिल्लर बनाउनेबाहेकको कुनै काम भएको छैन । १०२ मिटर लम्बाइमध्ये २५ मिटर आरसिसी र ७७ मिटर स्टिलको ट्रस्ट लगाएर निर्माण गर्नुपर्ने भए पनि ठेक्का लिने कम्पनीको लापरबाहीका कारण काम ढिला भएको आरोप छ । 

तमोर करिडोर (सुभाङखोला, दोभान, ओलाङचुङगोला) सडक आयोजना कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा इन्जिनियर वसन्तकुमार गाईले कोरोना कालमा एक वर्षसम्म काम नहुँदा समस्या भएको बताए । उनले २८ कात्तिक ०७८सम्म म्याद थपिएको र कोरोना महामारीका कारण पुनः ३० चैत ०७८ मा म्याद थपेको जानकारी दिए । त्यसपछि ३१ असार ०८० पुनः म्याद थपियो । सोही म्यादअनुसार अहिले काम जारी छ । आगामी १९ जेठ ०८२ सम्ममा पुल बनाई सक्नुपर्ने समयावधि छ । तर, अहिलेसम्म करिब २२ प्रतिशत मात्र काम हुँदै छ । यो म्यादमा पनि काम नसकिने अवस्था छ । यसरी ठेक्का लागेको आठ वर्षसम्म पनि काममा प्रगति नभएपछि स्थानीय सरकारले ठेकेदार कम्पनीलाई दबाब दिएको छ । तर, असोजमा आएको पहिरोले पिल्लर बनाउन ओछ्याएको रड पुरेपछि थप समस्या भएको ठेकेदार कम्पनीको भनाइ छ । 

आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू दीपेनले काम छिटो सक्न दबाब दिँदै आएको बताए । अध्यक्ष पोमूले लामो समय भए पनि प्रगति नदेखिएको र काम पनि सुस्त रहेको बताए । 

यो पुल नबन्ने हो भने पूर्वी जिल्लाहरू धनकुटा, ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुमलगायतको समृद्धि मात्र नभएर सबै पूर्वी नेपालको समृद्धिमा असर पुग्ने अध्यक्ष पोमूले जानकारी दिए। 
 

सुझावित समाचार