महोत्तरीको गौशाला नगरपालिका– ५ शिवभक्तिखोरमा एक महिलाको बीभत्स हत्या भएको अवस्थामा शव भेटिएकाे छ।शिवभक्तिखोरस्थित मूल सडकछेउको सानो कच्ची सडकमा अनुहारमा खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको हो।
आइतबार बिहान स्थानीयहरूले शव देखेर प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो। शव सोही वडामा घर भएका अभिषेक यादवकी श्रीमती २१ वर्षीया खुश्बुकुमारी यादवकाे रहेकाे प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारका अनुसार घटनास्थल मृतकको घरबाट झन्डै डेढ किलोमिटर टाढा छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै उनले अनुसन्धानपछि यथार्थ बाहिरिने जनाए।
प्रहरीले मृतकको श्रीमानसहित परिवारका सदस्यहरूको खोजी गरिरहेको छ।
मृतकको शव पोस्टमार्टमका लागि जलेश्वर पठाइएको छ। मृतकका माइती पक्षका अनुसार गत विवाहपञ्चमीका दिन खुश्बुको विवाह भएको थियो।